✍️ अजय क्षेत्री
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि केही नयाँ कार्यक्रमलाई प्राथमिकता दिएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समेटिएको इन्भेस्ट गण्डकी कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको छ । यस कार्यक्रमलाई सानिसा अवधारणमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गिग अर्थतन्त्रलाई पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । “गिग अर्थतन्त्रको सम्भावनालाई आत्मसात् गर्दै यसका संवाहकका रूपमा रहेका जस्तै, राइड सेयरिङ सेवा, कम्प्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माण लगायतका सेवालाई वैधानिक व्यवस्था गरिनेछ,” प्रदेश प्रमुख भट्टले भने ।