लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले जाजरकोट केन्द्रबिन्दु भई कार्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेकालाई ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको क्लबका अध्यक्ष टिकाबहादुर लम्सालले बताए ।
भूकम्प प्रभावित रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर १४ मा पुगेर नगर प्रमुख रवि के.सी.लाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए ।
’भूकम्पका कारण समस्यामा परेर यो जाडोमा खुल्ला आकाशमुनि बस्न बाध्य भएका पीडितहरुको दुःखमा साथ दिने हेतुले ८५ हजार रुपैयाँ बराबरको जाडोमा लगाउन मिल्ने न्यानो कपडा सहयोग गरेका हौं’ उनले भने ।
भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्टिक ३२५ ‘जे’ नेपालमा रहेको क्लबले निरन्तर रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष लम्सालको भनाई छ ।