पोखरा, कास्की: स्याङ्जाली सम्पर्क सदन, पोखरा–१७, छोरेपाटनमा संस्थाको ३०औं स्थापना दिवस भव्य रूपमा मनाइएको छ। कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष श्री धर्मराज अर्यालको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बृहत सरसफाइ, दिप प्रज्ज्वलन, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरी स्थापना दिवसको उत्सव मनाइएको थियो।
स्याङ्जाली सम्पर्क सदनको स्थापना २०५० साल पौष २७ गते मालेपाटनस्थित वागवानी केन्द्रबाट २६ जनाका प्रयासबाट गरिएको थियो। औपचारिक रूपमा भने मिति २०५१ साल असार १० गते जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको थियो।
गतिविधि र योगदानहरू
यस सदनले बेवारिसे मृत्युदाह संस्कार, असहाय बिरामीलाई सहयोग, रक्तदान, प्रतिक्षालय निर्माण, अस्पतालहरूमा सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन, सांस्कृतिक कार्यक्रम आयोजना जस्ता विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ। २५औं वार्षिकोत्सवका अवसरमा रजत महोत्सव आयोजना गरी अर्थ संकलनमार्फत सदनको आर्थिक सशक्तीकरण पनि गरिएको थियो।
कार्यक्रमका मुख्य व्यक्तित्वहरू
स्थापना दिवसको कार्यक्रममा प्रमुख अतिथि, स्याङ्जा जिल्ला पुतलीबजार–५ पैवैगौडे निवासी प्रहरी नायब उपरीक्षक श्री टेक बहादुर कार्कीले सदनका कार्य समग्र जिल्लावासीको हितमा रहेको र स्याङ्जालीहरूको मिलनको केन्द्रको रूपमा यस संस्थाले योगदान पुर्याएकोमा प्रशंसा व्यक्त गर्नुभयो।
त्यस्तै, पूर्वअध्यक्ष एवम् सल्लाहकार श्री प्रेम प्रकाश गौतमले स्याङ्जाका पर्यटन, धार्मिक र ऐतिहासिक पक्षलाई उजागर गर्दै कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा अन्य विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
भावी योजना
सदनका महासचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा भवनलाई थप व्यवस्थित बनाउँदै सार्वजनिक पुस्तकालय, ज्येष्ठ नागरिक सेवा विस्तार, स्याङ्जाका उत्पादनको प्रवर्द्धन तथा बजार व्यवस्थापन जस्ता योजनाहरू प्रस्तुत गरियो। साथै, अन्तरसमाजहरूको छाता संस्था बनाउँदै सबैलाई समेट्ने कार्यमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरियो।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष श्री गोविन्द काफ्लेले गर्नुभएको थियो भने सञ्चालन महासचिव श्री शिव बहादुर थापाले गर्नुभएको थियो।
स्याङ्जाली सम्पर्क सदनले सामाजिक सेवामा पुर्याउँदै आएको योगदानलाई निरन्तरता दिँदै स्याङ्जाली समुदायको पहिचान र एकताको प्रतीकको रूपमा उभिन सफल हुने विश्वास व्यक्त गरिएको छ।