✍️ अजय क्षेत्री
लेखनाथ, पोखरा – २० औँ लेखनाथ महोत्सव २०८१ आजबाट भव्य रूपमा सुरु भएको छ। पर्यटन, व्यापार, र संस्कृति प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु भएको यस महोत्सवको उद्घाटन गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो।
उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई नेपालकै पर्यटन राजधानीको रूपमा स्थापित गर्न प्रदेश सरकार नीजि क्षेत्रसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो। उहाँले नीजि क्षेत्र र सरकारको सहकार्यले प्रदेशको अर्थतन्त्रलाई सुधार्न मात्र नभई बलियो बनाउन पनि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री पाण्डेले उद्योग, व्यापार, र व्यवसायमा देखा परेको समस्या सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नीति र नियमका कारण उत्पन्न चुनौतीलाई तत्काल समाधान गरी प्रदेशका व्यवसायीलाई सहज वातावरण सिर्जना गर्न सरकार तत्पर छ।”
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि यस महोत्सवका अवसरमा मन्तव्य राख्दै, लेखनाथ महोत्सवले पोखराको पहिचानलाई अझ बलियो बनाउने र स्थानीय आर्थिक गतिशीलता बढाउन ठुलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “लेखनाथ महोत्सवजस्ता कार्यक्रमहरूले स्थानीय उत्पादन, कृषि, हस्तकला, र पर्यटनलाई प्रोत्साहन गर्दै यहाँका व्यवसायी र सर्वसाधारणका लागि नयाँ अवसर सिर्जना गर्नेछन्। महानगरपालिकाको तर्फबाट यस्ता गतिविधिलाई निरन्तर सहयोग र प्रोत्साहन दिइनेछ।”
मेयर आचार्यले स्थानीय स्तरमा सहकार्य र समन्वयलाई प्रोत्साहन गर्दै, गण्डकी प्रदेशलाई आर्थिक र सांस्कृतिक रूपले नमुना बनाउन नीजि क्षेत्र र सरकारी संयन्त्रलाई थप सक्रिय बनाउनु आवश्यक रहेको बताउनुभयो।
महोत्सवको महत्त्व र योगदान
महोत्सवको उद्घाटनले गण्डकी प्रदेशलाई आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धनको केन्द्रबिन्दु बनाउने दिशामा थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ। “समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सरकार, नीजि क्षेत्र, र सर्वसाधारणको सहकार्य अपरिहार्य छ,” मुख्यमन्त्री पाण्डेले थप्नुभयो।
यस महोत्सवलाई महोत्सवहरूको महोत्सवको रूपमा लिइन्छ। यसले स्थानीय व्यापार, कृषि, हस्तकला, पर्यटन, र सांस्कृतिक विविधताको प्रदर्शन गर्दै प्रदेशकै पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।
महोत्सवमा विभिन्न प्रदर्शनी स्टलहरू, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रमहरू, र विशेष व्यावसायिक छलफलहरू समावेश गरिएका छन्। महोत्सवले स्थानीय उत्पादनलाई बजार पु¥याउनुका साथै पर्यटक आकर्षणमा पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।
महोत्सव आयोजक समितिका अनुसार, महोत्सवमा स्थानीय उद्योगी, व्यवसायी, तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहनेछ। महोत्सवले प्रदेशको आर्थिक गतिशीलता बढाउँदै पर्यटन र संस्कृतिको प्रवर्द्धनमा थप योगदान पुर्याउने लक्ष्य लिएको छ।
२० औँ लेखनाथ महोत्सव २०८१ पोखराको पर्यटन प्रवर्द्धन र गण्डकी प्रदेशलाई आर्थिक समृद्धितर्फ अघि बढाउने थप एउटा महत्वपूर्ण कोसेढुंगा साबित हुने विश्वास छ। मुख्यमन्त्री पाण्डे र मेयर आचार्यको सकारात्मक दृष्टिकोणले महोत्सवलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।