पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा ‘नरेन’ ले खाडीमा अलपत्र परेका अमृत रानाभाटलाई उद्धार गरी सुरक्षितरूपमा परिवारमा पुर्नमिलन गराएका छन् ।
श्रम बेच्न खाडी पुगेका अमृतलाई कम्पनीले बीचैमा निकालिदिएपछि उनी कैयौँ दिनसम्म सडकमा भोकभोकै अलपत्र परेका थिए । उक्त समाचार सामाजिक सञ्जालमार्फत थाहा पाएपछि तत्काल उद्धारको पहल गरिएको वडाध्यक्ष थापाले जनाएका छन् ।
“दुबईदेखि उद्धार गरी परिवारमा पुर्नमिलन गराउन पाउँदा मन आनन्दित भएको छ । यो क्षण शब्दमा व्यक्त गर्न गाह्रो छ,” उनले भने, “यसरी उद्धार गरेर घरसम्म ल्याउँदा साँच्चिकै जनताको प्रतिनिधि भएर कर्तव्य पूरा गरेको अनुभूति भयो ।”

थापाले वडाको विकास आफ्नो मूल उद्देश्य रहेको उल्लेख गर्दै अपुग भएका कामका लागि वडावासीबाट निरन्तर सुझाव र सल्लाहको अपेक्षा गरेको बताए ।
यसैबीच उनले देशभर भइरहेको जेन–जी आन्दोलनमा घुसपैठ र अराजकताका कारण ७२ भन्दा बढी नागरिकको ज्यान गएकोप्रति दुःख व्यक्त गरेका छन् । “सरकारी, सार्वजनिक र निजी सम्पत्ति ध्वस्त भई अर्बौंको क्षति भएको छ । शहादत प्राप्त गर्ने वास्तविक जेन–जीहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दछु,” थापाले भने ।

व्यवसाय र सम्पत्ति गुमाएका व्यवसायीलाई धैर्य र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्दै उनले तोडफोड, आगजनी र लुटपाटमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।
“हामीले निर्वाचनमा भनेका थियौँ, ‘हामीले जित्दा कसैले हार्नु पर्दैन’ । पदमा रहुँ वा नरहुँ, बाँकी जीवन जनताको सुख–दुःखमा समर्पित हुनेछ,” वडाध्यक्ष थापाले भने ।