नेपाली काँग्रेसका युवा नेता महेशकुमार तिमिल्सिना अहिले पार्टीको कास्की क्षेत्र नं. ३ को प्रवक्ताको जिम्मेवारीमा छन् । छोटो समय नेपाल विद्यार्थी संघको राजनीति गरेर पार्टी राजनीतिमा प्रवेश गरेका तिमिल्सिना अहिलेको बौद्धि पलायतप्रति चिन्तित देखिन्छन् ।
पोखरा १८ सराङ्कोट स्थायी घर भएका तिमिल्सिना पोखराको पर्यटन व्यवसायमा पनि आवद्ध छन् । लामो समय होटल व्यवसाय गरेर हाललाई व्यवसाय स्थगित गरेका तिमिल्सिना हजुरबुबा पुर्णप्रसाद तिमिल्सिनाको राजनीतिक सक्रियताले प्रेरित भएर नेपाली काँग्रेसको राजनीतिमा आएका हुन् ।
सराङ्को जनजागृत मावि, जनप्रिय बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसबाट औपचारिक शिक्षा हासिल गरेका तिमिल्सिनासँग अहिलेको वर्तमान राजनीतिक परिवेश, नेपाली काँग्रेसको आन्तरिक राजनीति लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।
राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?
परिवार नै राजनीतिमा आवद्ध थियो । पारिवारिक पृष्ठभुमिका कारण म राजनीतिमा आएको भन्न मिल्ला । हजुरबुबा पुर्णप्रसाद तिमिल्सिना राजनीतिमा हुनुहुन्थ्यो पञ्चायत हुँदै नेपाली काँग्रेसमा आवद्ध हुनुभयो । तर बुबा जागिरे हुहुहुन्थ्यो । काका देविलाल पनि पेशागत राजनीतिमा नै हुनुहुन्थ्यो । सोही कारण मलाई राजनीतिप्रति रुची जागेको हो । शुरुमा नेवि संघको राजनीति हल्का लागियो । निर्वाचन परिचालन समिति सदस्य, नेवि संघ जिल्ला सदस्य पनि भएर काम गरियो ।

पारिवारिक प्रेरणा बाहेक ?
कसैको प्रेरणाले एक खाले भुमिका खेल्यो । तर यो भन्दा पनि आफुलाई के मा समर्पित गर्ने भन्ने कुरा आफसेआफ आउने कुरा रहेछ ।
तपाईंलाई राजनीतिमा परिवारको साथ कात्तिको छ ?
बुबा जागिरे भएकाले छोराले पनि जागिर खाओस भन्ने उहाँको चाहना । अनि अहिलेको प्रबृत्ति विदेश जानुपर्ने भन्ने छ । परिवारका अरु सदस्यको चाहना विदेश जाओस पैसा कमाओस भन्ने । परिवारले अन्य क्षेत्रमा लाग्न भन्दा भन्दै पनि राजनीति नछोड्ने भएपछि परिवारले व्यवसाय सहितको राजनीति गर्न सुझाव दिएको थियो । अब यसलाई परिवारको साथ भन्ने की के भन्ने ?
नेपालको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अब समग्र राजनीतिको अवस्था हेर्दा राजनीतिमा युवाको चाहना होईन की भन्ने जस्तो देखिन्छ । तर युवा र बौद्धिक मान्छे राजनीतिमा आएनन् भने खराब मानिसबाट शासित हुनुपर्छ । यो नेपाल सहित विश्व राजनीतिकै अनुभव हो । अब राजनीतिमा युवालाई आकर्षित गर्नुपर्ने देखिएको छ । स्पष्ट भिजन सहितको युवा राजनीतिमा आएन भने यिनै पुराना नेताहरुबाट शासित हुनुपर्ने दुर्भाग्य नेपालीको सामु प्रष्ट छ । अनि जनतामा राजनीतिक दलप्रति बितृष्णा पनि छ । केही दल आशा जगाउने हिसाबले आएपनि पछि उनीहरुको कार्यशैली पनि जनताले बुझे । त्यसकारण राजनीतिक दलप्रति जनताको बितृष्णा छ । दलको अहिलेको प्रमुख काम भनको जनतामा राजनीतिक दलप्रति भरोसा जगाउने हुनुपर्छ ।
पछिल्लो राजनीीतक समीकरणलाई कसरी हेर्नुभएको छ ?
अहिलेको जुन राजनीतिक समीकरण छ यो आवश्यक हो । देशमा छोटो छोटो समयमा सरकार परिवर्तन हुँदा जनतामा निरासा छाएको थियो । जनताका समस्याको सम्बोधन नहुने, राजनीतिक दल र नेताहरु सरकारहरु परिवर्तन गर्नेतर्फ मात्रै लाग्ने बढी सत्तामुखी हुने काम भए पनि गुणस्तरीय नहुने लगायतका समस्याको समाधानको लागि यो समीकरण भएको हो भन्ने मलाई लाग्छ । अनि अर्को कुरा केही संवैधानिक समस्याका कारण पनि यो समिकरण बनेको भन्ने मैले बुझेको छु । संविधान संसोधन मार्फत केही गाँठाहरु पनि फुकाउनुपर्ने छ ।
बेचन झा पक्राउ परेपछि काँग्रेस एमाले समीकरण भएको भन्ने जनताको बुझाईलाई कसरी चिर्नुहुन्छ ?
पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली काँग्रेससँगको गठबन्धधन तोडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेपछि हालका गृहमन्त्री रमेश लेखकले कुनैबेला संसदमा ‘धोका पाउनेहरु मिले भने तपाईंहरुको के हुन्छ ?’ भनेकै बेलादेखि नै नेपाली काँग्रेस र एमालेसँगको गठबन्धनको कसरत भएको हो । त्यतिबेलादेखि नै ठुला दलहरु मिलेर निकास निकाल्ने भन्ने विचार उत्पन्न भएको हो । यो बेचन झा भन्नको लागि भनिएको मात्रै हो ।

संविधान संशोधनको कुरा गर्नुभयो, के का लागि संविधान संशोधन ?
पहिलो कुरा त निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने छ । प्रदेश संरचनालाई कम खर्चिलो बनाउनपर्ने छ । संविधान संशोधन गरे समावेशितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजानुपर्ने आवश्यकता छ ।
तर केही दलहरु त पूर्ण समानुपातिक निर्वाचन प्रणाली भनिरहेका छ नी ?
निर्वाचन प्रणालीलाई पुर्ण समानुपातिक लैजानुहुन्न । प्रत्यक्ष समानुपातिक प्रणालीमा लैजानुपर्ने मेरो मान्यता छ । जस्तो कास्कीमा दलितको उम्मेदवार छ भने, दलितकै बीच प्रतिष्पर्धा गराउने । कुनै निर्वाचन क्षेत्रमा महिलाको, कुनैमा आदिवासी जनजातिको यसरी निर्वाचन प्रणाली सुधार गर्न सकिन्छ । अर्को कुरा संसदमा सीट सँख्या घटाउन सकिन्छ । निर्वाचन क्षेत्र घटाउने, वडा बढाउने, पालिकाको सँख्या पनि घटाउने गरी संविधान संसोधन हुनुपर्ने अहिलेको आवश्यकता हो । तर मुख्य सवाल त प्रदेश संरचनालाई मितव्ययी बनाउने नै हो । अहिलेको हाम्रो प्रदेश संरचना खर्चिलो छ । प्रदेश प्रमुखको कार्यालयमा महिनामा लाखौं रुपैंया खर्च हुन्छ । यस्ता खाले रकमहरु घटाएर पुँजीगत खर्च बनाउनुपर्छ ।
तपाईं आवद्ध पार्टीको कुरा गरौं, कास्की काँग्रेस कस्तो छ ?
कास्की काँग्रेस चलायमान भएको छैन । कुनै पनि मञ्चमा भाषण गर्दामात्रै क्रियाशिल सदस्यता बढ्लान जस्तो छैन । कास्की काँग्रेस जनताको बीचमा जानुपर्छ । यो समय ढिलो भईसकेको छ । पार्टीका प्रशिक्षणहरु, कार्याकर्ता परिचालन लगायतका धेरै कामहरु गर्नुपर्नेछन् ।
तर पार्टीका भातृ संगठनहरु त लथालिंग छन् नी ?
नेपाली काँग्रेसका भातृ संगठनहरुमा केही समस्या अवश्य छ । मेरो क्षेत्रको कुरा गर्नुहुन्छ भने भातृ संगठनका अधिवेशन वडा तहमा भएका छन् । तर केन्द्रमा टिके प्रणाली हटाएर अधिवेशन मार्फत नयाँ समिति ल्याउनुपर्छ भन्ने हो । हेर्नुस् काँग्रेस उत्पादन गर्ने क्षेत्र नेविसंघ हो । अहिलेको समिति अधिवेशन गराउन गठन भएको हो । यो समितिले अधिवेशन गराउनु पर्छ ।
तर कास्कीमा त काँग्रेस उत्पादन गर्ने क्षेत्र धेरै भएनन् र ?

होईन एउटै छ । लेटर प्याड कसैले प्रयोग गर्नुभएको छैन । केन्द्रीय सदस्यले कुन समितिलाई सहयोग गरेको छ भन्ने हो । दुवै पक्षलाई बोलाएर पार्टी नेतृत्वले मिलेर जाउ भन्न सक्नुपर्यो । नेवि संघमा आवद्ध केन्द्रीय सदस्यहरुलाई बोलाएर मिलाएर लैजाउ भन्न सक्नुपर्ने हो । केन्द्रमा पार्टी बिग्रियो भने शेरबहादुरको नाम आउँछ । कास्कीमा किशोरदत्त बरालको नाम आउँछ । कास्की नेविसंघको विवादलाई नेतृत्वले मिलाएर लैजानुपर्छ । लोकतान्त्रिक पार्टीमा प्रतिष्पर्धा जायज कुरा हो ।
पछिल्लो पटक उदाएको नयाँ दलको बारेमा तपाईंको धारणा केहो ?
दल नयाँ भएर मात्रै हुँदैन, विचार नयाँ हुनुपर्छ, नयाँ दलमा कुनै विचार छैन । दलका नेता र सांसदहरु स्टण्टबाजीमा रमाउनुहुन्छ ।
स्टण्ट ?
हो स्टण्ट । हेर्नुस् चित्रबहादुर केसी सधैं टेम्पो चढ्नुहुन्छ । उहाँको कुनै व्यक्तिगत सवारी सधान नभएकाले उहाँ सार्वजनिक यातायत चढ्नु स्वभाविक नै हो । तर आफ्ना गाडी हुनेहरु सार्वजनिक बस चढेर कसलाई स्टण्ट देखाउन खोजेको हो ? आफु गृहमन्त्री हुँदा जान नपरेको सिमलतालमा गृहमन्त्रीबाट हटेको भोलिपल्टै जानुबाट के पुष्टि हुन्छ ? स्टण्टको पुष्टि हुँदैन र ?
सामाजिक रुपान्तरणका लागि तपाईंले गरेको काम ?
जनतासँग प्रत्यक्ष जोडिएका कामहरु गरिरहेको छु । पार्टी र जनताका समस्या, विकासका समस्या के हुन् ? पहिचान गरेर अगाडी बढिरहेको छु । जनता र स्थायी सरकारका बीच पुलको काम गरिरहेको छु ।
पछिल्लो पटक तयाईंको क्षेत्रमा अरु पार्टीबाट काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चल्यो, नयाँ आएकाहरुलाई कसरी समेट्नुहुन्छ ?
उहाँहरु विनाशर्त पार्टी प्रवेश गर्नुभएको हो । अहिलेसम्म बाटो विराईयो, अब नेपाली काँग्रेसमै लागिन्छ भनेर आउनुभएको हो । महाधिवेशनमार्फत निर्वाचित भएर संगठनमा आउँछौं भन्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँहरुको आत्मसम्मानमा चोट नपुग्ने गरी जिम्मेवारी दिईन्छ ।
पुराना कार्यकर्ताले नै पद पाउन सकेका छैनन् नयाँलाई कसरी पद दिनुहुन्छ ?
उहाँहरुको क्षमता हेरेर जिम्मेवारी दिने हो । पार्टीको नीति अनुरुप उहाँहरु लोकतानित्रक प्रक्रियाबाट आउनुहुन्छ ।
तपाईंको पार्टीबाट निर्वाचित जनप्रतिनिधि र जनताबीचको सम्बन्ध कस्तो पाउनुभएको छ ?
पार्टीबाट टिकट पाएर निर्वाचित भएपछि जनताको सेवामा नै जाने हो । पार्टी र जनप्रतिनिधिबीच पुलको सम्बन्ध राखेर पार्टीको नीति अनुरुप काम गर्नुपर्छ । जनताले सेवा सुविधा पाउने तरिकाले जनप्रतिनिधिले काम गर्नुपर्छ । पार्टीले निर्माण गरेको विकासको रोडम्याप अनुसार काम गर्नुपर्छ ।
अबको योजना के छ ?
व्यक्तिगत योजना केही छैन । पार्टीको काम गर्ने नै हो । पहिलो त नेपाली काँग्रेसको संगठन बनाउन लाग्नुपर्यो । निर्वाचनमा जाँदा संगठन बलियो बनाउनुपर्ने हुन्छ । त्यसपछि व्यक्ति बन्ने के बन्ने भन्ने कुरा ।
नेपाली काँग्रेस कहिले भुईंमान्छसँग ठोकिन्न भन्ने आरोप छ नी ?
खै हामी त दैनिक भुईंमान्छेसँग ठोकिईन्छ । अरु पार्टीमा त करोडौं रकम लिएर मन्त्री सांसद भएको भन्ने आएको छ । नेपाली काँग्रेस जनताको पार्टी हो । पुँजीपतिको मात्रै पार्टी भन्ने होईन । धनी गरिब सबैको हो ।
अनि अहिलेको सरकारप्रति पुर्ण विश्वस्त हुनुहुन्छ त ?
अहिलेको सरकारले पनि जनताको काम गर्न सकेन भने जनतामा निराशा छाउँछ । यो सरकारलाई काम नगर्ने छुट छैन । यो सरकारले पनि जनताको निराशा चिर्न सकेन भने ठुलो रिक्तता उत्पन्न हुन्छ । किनकी नयाँ दलहरुलाई पनि जनताले चिनिसकेका छन् । विकास निर्माण, जनतामा सकारात्मक सन्देश प्रवाह र युवाको विदेश पलायन न्युनीकरण मुख्य चुनौती नै हुन् ।
दैनिक जसो विदेश जाने प्रबृत्तिलाई कसरी रोक्न सकिएला ?

नेपालबाबट बौद्धिक पलायत रोक्नुपर्छ भन्ने मेरो मुख्य जिकीर हो । यसका लागि चारवटा विधि छन् । पहिलो मेडिसिन, दोस्रो कृषि, तेस्रो पर्यटन र चौथो हाईड्रोको क्षेत्रमा काम गर्नुपर्छ । यि चारवटा क्षेत्रमा एकचित्त भएर काम गर्न सकियो भने युवा पलायन भनौं या बौद्धिक पलायन रोक्न सकिन्छ ।
तर युवामा त पार्टी, पद्दती भन्दा पनि व्यक्तिप्रति विश्वास गर्ने प्रबृत्ति देखियो नी ? जस्तो राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा रवि लामिछाने, बालेन शाह, हर्कराज राई लगायत ?
हेर्नुस् राजनीतिमा व्यक्तिवादी चरित्रले देशलाई ठाउँमा पुर्याउँदैन । राजनीतिमा व्यक्तिवादी चरित्र हावी हुन भएन । । राजनीतिमा पद्दति भन्दा व्यक्तिवाद हावी भयो भने स्टण्ट नै हुन्छ । हालसालैको उदाहरण हेर्नुस् न, रवि लामिछाने प्रचण्ड सरकारमा दुई कार्यकाल गृहमन्त्री हुँदा के काम भयो ? अनि गृहमन्त्रीबाट बाहिरिएपछि सिमलतालमा ? यो स्टण्टबाजका लागि मात्रै राजनीति भयो । व्यक्तिलाई मात्रै अगाडी बढाउँदा अराजकता मच्चिन्छ । देश विकासलाई सहज हुन्छ ।
अनि अर्को कुरा पार्टीले पनि आफ्ना एजेण्डा अनुसार सिष्टम बसालेर सिष्टम अनुसार काम गर्नुपर्यो । जो सुकै नेतृत्वमा आएपनि सिष्टमले काम गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्नुपर्दछ । जनतालाई विश्वास दिलाउनुपर्छ । देश निर्माण गर्नको लागि राजनीतिक दललाई सुधार गरेर लैजाने हो ।
संसदका दुई ठुला दल मिल्दा लोकतन्त्र खतरामा पर्छ भन्ने तर्क पनि अर्कोतर्फ छ नी ?
देशमा स्थायित्वका लागि दुई ठुला दल मिल्नुपर्छ । विकासका लागि मिल्नुपर्छ । जो सरकारमा जान पाएन लोकतन्त्रका लागि खतरा उसले गर्ने कुरा हो । काँग्रेस एमालेले राम्रो काम गर्न सकेनन् भने, जनताले भोट दिईराख्दैनन् । जनजिविकासँग जोडिएका कुराहरुलाई जोड दिएर अगाडी बढ्नुपर्छ । जनतालाई निरास बनाउनुहुन्न । कार्यकर्ताले खबरदारी गरिरहनुपर्छ ।
दुईवटा ठुला दल एक ठाउँमा हुँदा जनतामा एक प्रकारको आशा जागेको छ । जनताले देख्ने खालको परिवर्तन आएको हेर्न कम्तिमा छ महिना कुरौं । यो सरकारले डेलिभरी दिन सक्छ की सक्दैन भनेर केही समय कुरौं ।
अन्त्यमा केही भन्नुपर्ने छ ?
देशबाट बौद्धिक पलायत रोक्नुपर्ने छ । कार्यकर्ताले नेताहरुलाई खबरदारी गर्नुपर्ने छ । हामी जस्ता युवाले नेतालाई झक्झकाउने गर्नुपर्दछ । देशको आर्थिक र विकास नीतिमा एउटै धारणा बनाउनुपर्छ । सकारात्मक सोचौं ।