Sunday, September 14, 2025

आजको मिति: २०८२ भाद्र २९ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम
Next
Prev

आन्दोलनका नाममा भएको तोडफोडले दशकौँको श्रम खरानी : मन्त्री थापा

Share on facebook
Share on twitter
Share on linkedin

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रामजी थापाले हालैको जेन–जेड (जेनजी) आन्दोलनका क्रममा नियोजित ढंगले आफ्नो घर तथा व्यवसायिक प्रतिष्ठानमा लुटपाट र आगजनी गरिएको भन्दै गहिरो पीडा प्रकट गरेका छन् ।


मन्त्री थापाका अनुसार भदौ २३ र २४ गतेको आन्दोलनमा सुरुवाती चरणमा उनले नैतिक समर्थन देखाए पनि भोलिपल्ट अराजक समूहको घुसपैठपछि ठूलो विनाश मच्चिएको बताउँदै आफू र आफ्नो परिवार लक्षित भएको गुनासो गरेका छन् । “दशकौँको पसिना र श्रमले कमाएको सम्पत्ति एकै झड्कामा खरानी बनाइयो, तर यसबाट मेरो आत्मबल र इमानदारी जल्दैन,” मन्त्री थापाले भने ।


उनले आन्दोलनका क्रममा निर्दोषको ज्यान गुमेको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । “भदौ २३ गते मात्र १९ जनाको ज्यान गयो, अहिले त्यो संख्या ५० नाघेको छ, जुन अत्यन्त पीडादायी छ,” उनले भने ।


मन्त्री थापाले आफ्नो ९३ वर्षीया फुपू, परिवारका सदस्य र आफन्तसमेत आक्रमणको चपेटामा परेको उल्लेख गर्दै भाइ ध्रुव थापाको घरसमेत जलाइएको र दुई महिलालाई जिउँदै जलाइएको अमानवीय घटनाले परिवारलाई थप चोट पुर्‍याएको बताए ।


“मैले जीवनभर इमान र पारदर्शितालाई धर्म ठानेर काम गरेँ, एक पैसा भ्रष्टाचार गरेको छैन । यदि दोष प्रमाणित भए म कठोर सजाय भोग्न तयार छु, तर निर्दोष हुँदाहुँदै यसरी अपमानित हुनु घोर अन्याय हो,” मन्त्री थापाले भने ।


राष्ट्रबैंकको जागिरबाट अवकाश लिएर सानो मोटरसाइकल वर्कसपबाट सुरु भएको आफ्नो व्यवसाय पछिल्ला तीन दशकमा अटोमोबाइल, वित्त, घरजग्गा, होटल तथा पर्यटनसम्म विस्तार भएको स्मरण गर्दै उनले हजारौँ युवालाई रोजगारी दिने काम गर्वका साथ गरेकाे बताए ।


राजनीतिमा प्रवेश गर्ने कारण व्यक्तिगत स्वार्थ नभई जनताको पीडा कम गर्ने इच्छा भएको भन्दै मन्त्री थापाले भूकम्पदेखि कोभिड महामारीसम्म विपद्को बेला आफ्नो आम्दानी समाज सेवामा खर्च गरेको दाबी गरे ।


“जेनजीको नाममा गरिएको यो विनाश आन्दोलन होइन, अपराध हो । यसले मेरो मात्र होइन, देशकै अर्थतन्त्रलाई दशकौँ पछाडि धकेलेको छ,” मन्त्री थापाले जोड दिए । उनले सत्य–तथ्य छानबिन गरी दोषीमाथि कठोर कारबाहीको मागसमेत गरेका छन् ।


पीडादायी क्षणमा शुभचिन्तक, मतदाता र नागरिकबाट प्राप्त सहानुभूति, सद्भाव र हौसला नै आफ्नो सबभन्दा ठूलो प्रेरणा भएको भन्दै मन्त्री थापाले भने, “भौतिक सम्पत्ति जले पनि आत्मबल र निष्ठा जल्दैन । यो खरानीभित्रै नयाँ आशाको बीउ रोपेर फेरि उठ्ने दृढसंकल्प लिएको छु ।”


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist