काठमाडौं– अगस्ट १२ का दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यालयले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली युवाहरूप्रति हार्दिक शुभकामना व्यक्त गरेको छ।

“SDGs र त्यसभन्दा वाहिरका लागि स्थानीय युवा कार्यहरू” भन्ने संयुक्त राष्ट्र संघद्वारा अगाडि सारिएको यस वर्षको नारालाई आत्मसात् गर्दै नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ। नेपाल तरुण दलले आफ्नो सन्देशमार्फत गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगारीजस्ता दिगो विकास लक्ष्यहरूमा स्थानीय स्तरबाट युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको औँल्याएको छ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, “देशको विकास र समृद्धिको मेरुदण्ड युवा शक्ति हो। तर, आजको दिनमा युवाहरूको ठूलो हिस्सा रोजगारी, अध्ययन र अवसरको खोजीमा विदेश पलायन भइरहेका छन्। नेपालले आफ्नै देशभित्र सम्भावनाहरू पहिचान गरी युवालाई यहीं उपयोग गर्ने नीति अपनाउन जरुरी छ।”

शुभकामना सन्देशमा शिक्षा, सीप विकास, उद्यमशीलता प्रवर्द्धन, पूर्वाधार विस्तार, र उत्पादनमूलक क्षेत्रमा लगानीमार्फत देशमा नै युवाहरूका लागि अवसर सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल तरुण दलले देशभर ‘दिगो विकासको सार र सुनौलो भविष्यः समृद्धिको आधारको रूपमा स्थानीय युवा सहभागिता’ भन्ने विषयवस्तुमा विभिन्न बहस, अन्तरक्रिया, र कार्यक्रमहरूको आयोजना गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाउने जनाएको छ।
युवाहरूलाई देशमै सशक्त बनाउने दीर्घकालीन रणनीतिहरू अब कार्यान्वयनको चरणमा लैजानुपर्ने आवश्यकता रहेको बताए ।