स्वाभिमानि इमान्दार, कर्तव्यनिष्ठ र विकासप्रेमी नेताको रुपमा जनतामा आफ्नो पहिचान बनाएका नेपाली कांग्रेसका नेता कृष्ण केसी लगायत नेताहरुमाथि भएको कारबाहीप्रति कांग्रेसका नेता तथा कार्यकर्ताले निःसर्त फुकुवाको माग गरिरहेका छन् ।
कांग्रेस अनुशासन आयोगले गरेको कारबाही विरुद्ध कांग्रेसका उच्च नेता, कार्यकर्ता र भातृ संगठनका पदाधिकारीले कारबाही अनुपयुक्त, विरोधाभास, व्यक्ति केन्द्रीत र राजनीतिक प्रतिशोधको रुपमा आएको भन्दै उनीहरुले तुरुन्त बिनासर्त फुकुवा गर्न माग गरेका हुन् ।
यसैबीच, नेपाली कांग्रेस प्रदेश सभा, क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नं १ ख कास्कीकाे पूर्ण बैठकले निर्णय गर्दै कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजकलाई ‘अनुशासनको कारबाही पुनरावलोकन खारेज’ सम्बन्धमा पत्र लेख्दै कारबाहीप्रति गम्भिर आपत्ति प्रकट गरिएकाे छ ।
सभापति कृष्णप्रसाद कोईराला, समितका पदाधिकारीसहित २८ जनाले लिखित रुपमा सो आपत्ति जनाउदै कारबाही पूर्णतः अन्यायपूर्ण, पूर्वाग्रही र गुटको प्रभावमा आधारित भएकोले गम्भिर आपत्ति प्रकट गरिएको जनाईएको छ ।
पत्रमा लेखिएको छ-‘नेपाली कांग्रेसभित्र पार्टी विधान, लोकतान्त्रिक मूल्य र सांगठनिक मर्यादाको विपरित प्रतिशोधपूर्ण, पूर्वाग्रही र गुटबन्दिको प्रभावमा २०८२ असार २५ गते केन्द्रीय संयोजक आनन्द ढुंगानाको नाममा प्रेसित अनुशासनको कारबाही गरिएको घटनाले सम्पूर्ण पार्टी अनुशासित कार्यकर्ता र आम कांग्रेस परिवारलाई दुःखी र आक्रोसित बनाएको छ ।
विशेषतः कास्कीका निवर्तमान सभापति नेता कृष्ण केसी, पूर्व आमन्त्रित केन्द्रिय सदस्य कुमार खड्का र भावना श्रेष्ठ लगायतका नेता, कार्यकर्तामाथि गरिएको कारबाहीले नेपालको ठूलो र पूरानो पार्टीप्रति जनतामा बितृष्णा बढाएको र नजिकिदै गरेको १५ औं महाधिवेशन तथा आम निर्वाचनको समयमा बिगत ३ वर्ष अगाडी भएको निर्वाचनको विषयलाई लिएर हाल आएर भएको अन्यायपूर्ण निलम्वनले कांग्रेसमा गुट, अवसरवादी प्रवृत्तिको मौन स्वीकार्यता झल्काएको उल्लेख छ ।
पत्रमा पार्टीको निर्णय लोकतान्त्रिक प्रक्रिया र निष्पक्ष छानबिनको आधारमा हुनुपर्नेमा व्यक्तिविशेषका आन्तरिक स्वार्थ र सत्ता लोलुपताले प्रभावित भई कारबाही गरिएको भन्दै गम्भिर आपत्ति प्रकट गरिएको छ ।
कारबाहीको विरुद्धमा अगाडी लेखिएको छ, सो निर्णयले पार्टी नीति, विधान र लोकतान्त्रिक मूल्यहरुमाथि प्रहार गरेको छ । पार्टीका शुभचिन्तक र विभिन्न समितिहरुले यो निर्णय फिर्ता लिन माग गर्दछौं ।
नेता कृष्ण केसी लगायत माथिको अन्यायपूर्ण कारबाही तत्काल फिर्ता गरियोस् । निष्पक्ष छानबिन र आन्तरिक लोकतन्त्र सुनिश्चित गरियोस् । यो कारबाही पूर्वाग्रही, अन्यापूर्ण र संगठनको एकतामाथिको चोट हो ।
पार्टीको एकता र सिद्धान्त जोगाउन निर्णय तत्काल सच्याइनु पर्ने दृढ माग छ । निर्णय नसच्चिए सिंगो कांग्रेस कमजोर हुन्छ र बिपक्षी बलियो हुने निश्चित छ । न्याय र एकताको पक्षमा हामी एक छौं । निर्णय सच्याईएन भने जिल्ला संगठनलाई ठूलो क्षति हुनेछ ।