पोखरा-कास्की जिल्ला हक्की संघ कास्कीको आयोजनामा सुरु भएको ३ दिने अन्तरविद्यालयस्तरीय सिक्स-ए-साइड छात्र/छात्रा हक्की प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ। प्रतियोगितामा नेपाल हक्की संघ र प्रादेशिक हक्की संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा कास्की, तनहुँ , भक्तपुर ,नवलपुर गरी १८ विभिन्न विद्यालय छात्र/छात्रा गरी ३६ टिमको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सांसद प्रकाश बरालले गरेका थिए। उनले उद्घाटन मन्तव्यमा विशेषगरी महिला हक्की खेलमा कास्कीले विभागीय टिमहरूलाई समेत पछाडि पार्दै ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्दै प्रशिक्षक, व्यवस्थापक र खेलाडीहरूको अथक मेहनतका कारण जिल्लाले यो गौरव हासिल गरेको बताए। “निकट भविष्यमा सरकारी निकायसँग समन्वय गरी हक्की खेलको प्रवर्द्धन र पूर्वाधार विकासमा सहयोग जुटाउनेछौं,” उनले प्रतिबद्धता जनाए।

सो कार्यक्रममा हक्की संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक हितकुमार गुरुङ, प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापा, संघका अन्य पदाधिकारीहरू, कास्की जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका तथा खेल प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले भविष्यमा पनि प्रदेशस्तरीय संघबाट आवश्यक सहयोग निरन्तर रहने विश्वास दिलाए। “यस्ता प्रतियोगिताले खेलाडीहरूको मनोबल बढाउनुका साथै खेलक्षेत्रमा भविष्य निर्माणको अवसर पनि प्रदान गर्छन्,” उनले भने।

कार्यक्रमको सभाध्यक्ष सुसन पुनले सफल उद्घाटन समारोहप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन जिल्ला हक्की संघकी सचिव पूजा पुनले गरेकी थिइन् भने स्वागत मन्तव्य प्रदेश हक्की संघकी सहसचिव दिव्या पोखरेलले दिएकी थिइन्।
प्रतियोगिता साउन २९ गतेसम्म सञ्चालन हुनेछ।तीनदिन सम्म सञ्चालन हुने प्रतियोगिता छात्र/छात्रातर्फ गरी १८ विद्यालयका छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन् ।