चर्चित टेलिभिजन प्रस्तोता टीकाराम यात्री एपीवान टेलिभिजनबाट बाहिरिएका छन् । उक्त टेलिभिजनका प्रधानसम्पादकसमेत रहेका उनी बुधबारदेखि औपचारिकरुपमा बाहिरएका हुन् ।
एपीवानमा यात्रीको ‘तमसोमा ज्योतिर्गमय’ नामको कार्यक्रम निकै चर्चित छ ।
यात्रीले सामाजिक सञ्जालमार्फत आफुँले टेलिभिजन छाडेको बताएका हुन् । उनले अन्य मिडियामार्फत फेरि प्रस्तुत हुने पनि संकेत गरेका छन् ।
“आदरणीय दर्शक, आफन्त र मित्रगण ! यहाँहरूको निसर्त सद्भावका कारण एपीवान टेलिभिजनको अंकुरण, पल्लवन र पुष्पनसम्म मेरो यात्रा सबै दृष्टिले अनुपम रह्यो। परन्तु यो यात्राबाट अहिले विश्राम लिएको छु”, उनले सामाजिक सञ्जालमा भनेका छन्, “प्रधान सम्पादक र कार्यक्रम प्रस्तोताका रूपमा मेरा लागि वितेको सात वर्ष स्वर्ण वर्षका रूपमा रहे। यो यात्रामा अनवरत साथ, समर्थन, सद्भाव र सहकार्यका लागि प्रिय दर्शक, शुभचिन्तक, सहकर्मी र व्यस्थापकप्रति विशेष अनुग्रहसहितको अहोभाव। हाम्रो भेट भैरहने नै छ।”