पोखरा, श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञअन्तर्गत जेठको पहिलो हप्ता पोखरामा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। प्रतियोगिता संयोजक तथा पब्लिक स्पिकर, मोटिभेटर र संस्कृतिविद् डा. तुलसी प्रभास खनालका अनुसार ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा प्रतियोगिता आयोजना गरिएको हो।
देशभरका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने उक्त प्रतियोगितामा एसइई र कक्षा ११ को परीक्षा दिइसकेका विद्यार्थीहरूको सहभागिता पनि सुनिश्चित गरिएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद ५१,१५१ रुपैयाँ, द्वितीयले ४१,१४१, तृतीयले ३१,१३१ र सान्त्वना पुरस्कारस्वरूप २१,१२१ रुपैयाँ प्राप्त गर्नेछन्। साथै, सहभागीलाइ विविध सम्मान पनि गरिनेछ।
ख्यातिप्राप्त पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटिभेसन सहित आयोजना हुने प्रतियोगितामा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी, र नवलपुरकी मनिषा पौडेल अतिथि वक्ताको रूपमा रहने छन्। उनीहरूलाई विशेष सम्मान पनि गरिनेछ। प्रतियोगिताको मूल्याङ्कन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूद्वारा गरिने खनालले बताए।
कास्की जिल्लाबाहिरबाट आउने सहभागीहरूका लागि यात्राव्यवस्था, बसोबास तथा आवश्यक सुविधा प्रदान गरिनेछ। वैशाख मसान्तभित्र नाम दर्ता अनिवार्य गरिएको छ। हालसम्म काठमाडौं, जुम्ला, रुकुम, रोल्पा, बाँके, बर्दिया, झापा, धादिङ लगायत जिल्लाबाट ५० भन्दा बढीले नाम दर्ता गराइसकेको जानकारी संयोजक खनालले दिएका छन्।
वक्तृत्वको समय ७ मिनेट तोकिएको छ भने प्रस्तुतिमा सकारात्मक सन्देश हुनु पर्ने शर्त राखिएको छ। विद्यालयस्तरमा कुनै संख्यात्मक सिमितता नराखी खुल्ला सहभागिता सुनिश्चित गरिएको छ।
शिक्षा, संस्कृति र सनातन परम्पराको समन्वयमा आधारित यो प्रतियोगिता कोटिहोममार्फत विद्यार्थीमा संस्कार, आत्मविश्वास र समर्पणको भावना विकास गर्न आयोजित गरिएको बताइएको छ।
महायज्ञका संकल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले कोटिहोमलाई अध्यात्म, विज्ञान र सेवाको संगम स्थलका रूपमा वर्णन गर्दै सबैलाई दर्शन गर्न आग्रह गरेका छन्। साथै, वैशाख २७ गते ३ देखि ९ वर्ष उमेर समूहका १ हजार भन्दा बढी कन्याहरूबाट पूजा, २९ गते चौरासी पूजन, २१ कोटि दीप प्रज्वलन, तुला दान, शुभ विवाह कार्यक्रम, रुद्राभिषेक लगायत विविध धार्मिक र सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ।
वर्तमानमा कोटिहोममा चार सयभन्दा बढी ब्राह्मणद्वारा दैनिक आहुति, व्रतबन्ध, भजन प्रतियोगिता, रामायण प्रवचन, सुप्रसिद्ध कथावाचकहरूको सहभागिता तथा कलाकारहरूद्वारा झाँकी, देवलीला, नृत्य लगायत प्रस्तुति भइरहेका छन्।
पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरको परिसरमा सञ्चालित कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म जारी रहनेछ।