पोखरा – पोखरा महानगरपालिका वार्ड नं. १७ मा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पूजन आगामी बैशाख ३ गते बुधवार गरिने भएको छ।
मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको यस महायज्ञको पूर्वसन्ध्यामा चैत्र १७ गतेदेखि नै विविध धार्मिक कार्यक्रमहरू सञ्चालनमा छन्। चैत्र २९ गतेदेखि नेपालको कान्छि भागवत वाचिका अनुराधा पाण्डेयद्वारा श्रीमद्भागवत कथा प्रवचन सुरु गरिएको छ, जसले भक्तजनहरूको उल्लेखनीय सहभागिता आकर्षित गरिरहेको छ।
बैशाख ३ गते बिहान भूमी पूजन कार्यक्रमसँगै मूल यज्ञ कुण्ड खन्ने साइत समेत रहेको आयोजकले जानकारी दिएको छ। कार्यक्रमको सफलताको कामना गर्दै आयोजकले सो दिन सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भइ पुण्य लाभ लिन अनुरोध गरेको छ।