पोखरा — पोखरामा आयोजित ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १४ दिनसम्म श्रीमद्भागवत कथा वाचन गरेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभाको शुक्रबार भावुक बिदाई गरिएको छ।
बिदाई समारोहमा कोटीहोम स्थल छोरीको विवाह घरजस्तै परिवेशमा परिणत भएको थियो। देवी प्रतिभाको ‘प्यार से बोलेन’ भन्ने संवाद सम्झिँदै भक्तजन र आयोजकको मन भारी बनेको थियो। स्वयं देवी प्रतिभाको आँखामा पनि आँशु टिल्पिलाएको दृश्य सबैको मन छोएको थियो।
कोटीहोमका संकल्पकर्ता विजय कृष्णमूर्तिले फूलमाला र पूजा गर्दै देवी प्रतिभाको सम्मानपूर्वक बिदाई गरे। बिदाईका क्रममा उनी निकै भावुक भइ रुन थालेका थिए भने अभिनन्दनपत्र पढ्दा भक्कानिएर पढ्नै नसक्ने अवस्थामा पुगेका थिए।
मानव सेवा फाउण्डेशनले देवीसहित उनको टोलीलाई विशेष सम्मानका साथ बिदाई गरेको थियो। वैशाख ५ गते पोखरा आएकी देवी प्रतिभा शुक्रबार बिहान भारत प्रस्थान गर्दैछिन्। आइतबारदेखि झारखण्डमा उनको कथा कार्यक्रम तय भएको छ।
यद्यपि संकल्पकर्ता विजय कृष्णमूर्तिले जेठ १० देखि १६ गतेसम्म देवी प्रतिभालाई पुनः पोखरा ल्याउने प्रयास भइरहेको बताएका छन्। कथा समापनका बेला देवीले “यो कोटीहोममा मेरो अन्तिम प्रस्तुति हो, मैले सुनाएका कथाले तपाईंहरू प्रशन्न हुनुभो?” भनेर सोध्दा भक्तजनहरूले एक स्वरमा “हामी निकै खुशी भयौँ, तपाईं अझै बसेर अरू कथा पनि सुनाउनु” भन्ने आग्रह गरेका थिए।
अबको कथा वाचन कार्यक्रम भारतका चर्चित युवा दार्शनिक तथा कथा वाचक प्रशान्त कृष्ण परांकुशले सञ्चालन गर्नेछन्, फाउण्डेशनका प्रचार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्।
यस्तो भावुक बिदाईले कोटीहोम स्थलको वातावरण अझै केही समय स्मरणीय बनाउने निश्चित छ।