पोखरा-पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै गएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयको भागवत कथा वाचन प्रारम्भ भएको महायज्ञले पोखराली समाजमा आध्यात्मिक उत्साह थपेको छ।
हाल अन्तरराष्ट्रिय कथा वाचिका देवी प्रतिभाले बैशाख १८ गतेसम्म कथा वाचन गरिरहेकी छन्, जसले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाएको छ। सोमबार उनले भगवान कृष्णको जन्म उत्सव मनाउँदै फूल र मिठाई वितरण गरी भक्तजनलाई मनोरञ्जन प्रदान गरिन्।
महायज्ञका सह–निर्देशक युवक लामिछानेका अनुसार, कार्यक्रममा दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायत राष्ट्रियस्तरका प्रवचनकर्ताहरूको सहभागिता हुनेछ। साधु–सन्त, भक्तजन, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको सक्रिय उपस्थिति रहेको यस महायज्ञ पोखराली समाजको साझा उत्सवको रूपमा स्थापित हुँदैछ।
महायज्ञमा ४१ दिनसम्म निरन्तर हवन सञ्चालन हुनेछ। आयोजक समितिले भक्तजनलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर यज्ञमा सहभागी हुन आग्रह गरेको छ।
सो अवसरमा वरिष्ठ पत्रकार प्रकाश सुवेदीले आफ्नो प्रेरणादायी मन्तव्य राख्दै भने, “हामीले धर्मको संरक्षण गरेमा मात्र धर्मले हाम्रो रक्षा गर्छ। मैले हलेसी यात्राको योजना बनाएको थिएँ, तर भोलेनाथसँग क्षमा माग्दै देवी प्रतिभाको कथा सुन्न यहाँ आइपुगेँ। संस्कृतको विद्यार्थी भएकाले धर्म र कर्मप्रति मेरो विशेष रुचि छ। पोखराको माटो साँच्चै भाग्यमानी छ, विशेषगरी बिरौटावासीका लागि यो अवसर सौभाग्यपूर्ण हो। हाम्री चेली देवी प्रतिभाले नेपाली संस्कृति र धर्मको क्षेत्रमा सधैं राष्ट्रिय पहिचान जोगाइरहने विश्वास लिएको छु।”
गण्डकी कोटिहोम महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीय जग्गामा सञ्चालन हुनेछ। कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिएको छ।
महायज्ञमा कथा वाचन, भजन, प्रवचन, यज्ञ, सत्सङ्ग, सत्कार्य र सेवामूलक कार्यक्रमहरू समावेश छन्। यसले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ, जसले पोखरालाई पर्यटकीय राजधानीसँगै धार्मिक गन्तव्यको रूपमा थप मजबुत बनाउनेछ।
विभिन्न स्थानबाट आएका साधु–सन्त, ब्राह्मण, धर्मगुरु र भक्तजनहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको गरिमा अझ बढाएको छ। दैनिक अनुष्ठान, पूजापाठ, प्रवचन, आरती र सांस्कृतिक कार्यक्रमहरू उत्साहका साथ सञ्चालन भइरहेका छन्।
स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, नगर प्रमुख, स्वयंसेवक, महिला समूह, बालबालिका र वरिष्ठ नागरिकको आत्मीय सहभागिताले गण्डकी कोटिहोम महायज्ञलाई सामाजिक सहकार्य, समर्पण र सद्भावको प्रतीक बनाएको छ।
गण्डकी कोटिहोम महायज्ञ पोखरेली समाजको सांस्कृतिक पहिचान र एकताको दस्तावेजका रूपमा लामो समयसम्म स्मरणीय रहने विश्वास गरिएको छ।