नयाँबजार क्लबको आयोजनामा तथा आरम्भ स्पोर्ट्स हाउसको सहआयोजनमा पुरुष भलिवल प्रतियोगिता आजदेखि नयाँबजारमा सुरु भएको छ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदको विकासका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा क्लब अध्यक्ष समीर श्रेष्ठले खेलाडीको हकहितका लागि क्लब अझ सक्रिय हुने बताउनुभयो।

प्रतियोगिताको पहिलो खेलमा रेडियो अकला टिमले आयोजक टिमलाई दुई–एक सेटमा पराजित गरेको छ।
भदौ १२ गतेदेखि सुरु भएको प्रतियोगिता भदौ १४ गतेसम्म बृहस्पति पेट्रोलपम्प नजिक सञ्चालन हुनेछ।
कुल २२ टिम सहभागी प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार, र तेस्रो हुने टिमले १० हजार नगद पुरस्कार प्राप्त गर्ने संयोजक विनोद रामदामले जानकारी दिनुभयो।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन दिने विश्वास लिइएको छ।