✍️ अजय क्षेत्री
काठमाडौं – लामो समयदेखि सरकारी सचिवालयमा रहँदै १६ जना मन्त्रीहरूको गाडी चलाएका नवराज अर्यालले निर्मला पन्त हत्या प्रकरणमा आफू महत्वपूर्ण साक्षी रहेको र उक्त घटनामा संलग्न तीन जनाको नाम सार्वजनिक गर्न सक्ने ठोकुवा गरेका छन्। हालैको एक अन्तर्वार्तामा अर्यालले भने, “मेरो ज्यानको सुरक्षा सरकारले लिएमा म निर्मला पन्तमाथि बलात्कार र हत्या गर्ने तीन जनाको नाम बताइदिन सक्छु।”
अर्यालले घटनाका दिन आफू कञ्चनपुरको बेलौरीमा रहेको र सोही घटनामा प्रत्यक्षदर्शी रहेको खुलासा गरेका छन्। “त्यो बेलामा म मन्त्रीको झन्डावाला गाडी चलाउँदै बेलौरी पुगेको थिएँ, र यदि मेरो हाजिरी कापी जाँच गरियो भने म त्यहाँ भएको पुष्टि गर्न सक्छु,” अर्यालले भने।
उनले यो खुलासा गर्न हालै आइपरेका खतराहरूको चर्चा गर्दै भने, “अहिले नाम नबताउँदा पनि मलाई धम्की आइरहेको छ भने, यदि ती तीन जनाको नाम सार्वजनिक गरें भने मेरो जीवन कसरी सुरक्षित होला?” उनले थपे, “म सरकारलाई अनुसन्धान गर्न आग्रह गर्छु, र सुरक्षा दिइयो भने म सत्यको खुलासा गर्न तयार छु।”
निर्मला पन्तको बलात्कार र हत्यापछि विभिन्न पक्षबाट विभिन्न तहमा अनुसन्धान भए पनि दोषी पत्ता लाग्न सकेको छैन। अर्यालको यो खुलासाले कञ्चनपुर घटनाको अनुसन्धानलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ। अब सरकारको जवाफमा अर्याललाई सुरक्षा दिएर अनुसन्धान अघि बढाइने वा नदिइने भन्ने चासो सर्वत्र बढेको छ।