✍️ अजय क्षेत्री
तनहुँकी म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पुकी एकजना नाबालिकालाई अपहरणपछि बन्धक बनाएर बलात्कार गरेको अभियोगमा प्रहरीले भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ ।
असार १७ गते बिहान तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पुबाट नाबालिकालाई फकाएर पोखरा रानीपौवामा रहेको कोठामा ल्याई रातको समयमा सामूहिक बलात्कार गरेको डिएसपी शर्माले बताए । नाबालिकालाई ग ८ प ४२८० नम्बरको मोटरसाइकलमा राखेर पोखरा महानगरपालिका ११ रानीपौवास्थित ल्याइएको प्रहरीले जनाएको छ । पोखरा ल्याएर ती नाबालिकालाई दुवैजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले बताएका छन् ।
धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका १० गोपालपुर घर भई कास्की पोखरा महानगरपालिका ११ रानी पौवा बस्ने २१ वर्षीय अरूण कुमार दास र भारतको बिहार प्रदेश सीतामढी डुमरा थाना सुरसड पक्ष्मी १ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमारलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नागरिक सुनिल कुमार पनि पोखरा महानगरपालिका ११ रानीपौवामा बस्दै आएका थिए ।नाबालिकालाई बन्धक बनाएर बलात्कारपछि पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा महानगरपालिका ३० पावरहाउसबाट प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूविरूद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।