राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटी आफ्नो सांसद पदको निलम्बन फुकुवाका लागि निवेदन दिएका छन्। लामिछानेले अदालतले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय नगरेको र धरौटीमा रिहा भएकाले निलम्बन फुकुवा गर्न माग गरेका हुन्।
गत पुस ८ गते संसद् सचिवालयले लामिछानेलाई सांसद पदबाट निलम्बन गरेको थियो। उनमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणका मुद्दाहरू विभिन्न जिल्ला अदालतहरूमा विचाराधीन छन्।
लामिछानेले आफ्नो निलम्बनलाई गैरकानुनी र प्रतिनिधि सभा नियमावली विपरीत भएको दाबी गर्दै निलम्बन फुकुवाका लागि आग्रह गरेका छन्।