नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेका कुष्ठ प्रभावितहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा युनियन कास्की जिल्ला अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुटलगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री वितरण गरे।
कार्यक्रममा पोखरा आरोग्य आश्रमका अध्यक्ष सुवाष तझ्याले प्रेस युनियनजस्तो पत्रकारको संस्थाले समाजसेवामूलक कार्य गरी समाजमा सकारात्मक सन्देश फैलाएको बताए। उनले आश्रममा हाल कुष्ठ प्रभावितहरुको संख्या बढ्दै गएको उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रमले उनीहरुलाई राहत प्रदान गर्ने बताए।
कार्यक्रमको अध्यक्षता प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रले गरेका थिए। उपाध्यक्ष ज्याति हमालले स्वागत मन्तव्य राखे भने सचिव धनबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।
स्थापना दिवसको अवसरमा गरिएको यस कार्यले सामाजिक उत्तरदायित्व निर्वाह गर्न पत्रकारहरुको भूमिका अझ सशक्त हुँदै गएको संकेत गरेको सहभागीहरुले बताएका छन्।