नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको स्थापनाको ११ औं वर्ष प्रवेशको अवसरमा आज पोखरामा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघ कास्की, प्रदेश समन्वय समिति र गण्डकी प्रदेशको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ८, न्यूरोडस्थित बराल फर्निचर उद्योग अगाडि कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि महासंघका अध्यक्ष युवराव पौडेलले पहिलो रक्तदाता रामजी प्रसाद तिवारीलाई व्लड ब्याग हस्तान्तरण गर्दै रक्तदानको शुभारम्भ गरेका थिए।

अध्यक्ष पौडेलले व्यवसायीहरुले विभिन्न समस्याबीच पनि सामाजिक सेवामा सक्रिय भईरहेको उल्लेख गर्दै रक्तदान जस्तो जीवनदायी कार्यमा संलग्न भएकामा आयोजक पक्षलाई धन्यवाद व्यक्त गरे। “रक्तदान जस्तो पुनित कार्य महासंघको ११औं वार्षिकोत्सव अवसरमा गर्न सकेका छौं, यसले सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता दर्शाउँछ,” उनले भने।

नेपाल चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उजराज वास्तोलाले रगतको विकल्प नभएकोले यस अभियानको प्रशंसा गर्दै व्यवसायीका समस्यातर्फ सरकार गम्भीर नभएको गुनासो पोखे। उनले बैंकको उच्च व्याजदर र भाडा समस्याले व्यवसायी पिरोलिएका बताए।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष वलराम आचार्यले व्यवसायी नाफामुखी मात्र नभई समाजप्रति जिम्मेवार रहेको दृष्टान्त यो कार्यक्रमले दिएको बताए। “समस्याहरुको बारेमा हामी सबै जानकार छौं, समाधानका लागि संघले सक्दो सहयोग गर्नेछ,” उनले प्रतिवद्धता जनाए।

रक्त सञ्चार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले अहिले पनि रगतको विकल्प नतयार भएको भन्दै प्रत्येक व्यक्तिलाई जन्मदिनजस्ता विशेष अवसरमा रक्तदान गर्न प्रेरित गरे। “सामूहिक रक्तदान कार्यक्रमलाई अझ फराकिलो बनाउनु आवश्यक छ, हामीले सिर्जनाचोकस्थित कार्यालयबाट यो अभ्यास सुरु गरिसकेका छौं,” उनले जानकारी दिए।

कार्यक्रमका संयोजक हिरामणी पण्डितले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव परमेश्वर दवाडीले गरेका थिए। कार्यक्रम संघका अध्यक्ष थोमनाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो।

रक्तदान कार्यक्रममार्फत व्यवसायीहरुले सामाजिक उत्तरदायित्वप्रति गम्भीरता व्यक्त गरेको र यो उदाहरणीय कार्य अन्य संघसंस्थाका लागि पनि प्रेरणा बन्ने आशा गरिएको छ।