पोखरा, फागुन ०२ – नेपाल रेडक्रस सोसाइटी उपशाखा–१७ को आयोजनामा शनिबार खुल्ला रक्तदान कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमबाट कुल ७० युनिट रगत संकलन भएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष राधिका शाही योगी रहनुभएको थियो। उहाँले रक्तदानको महत्वबारे बोल्दै भन्नुभयो,
“रगत कुनै उद्योग वा प्रयोगशालामा उत्पादन गर्न सकिँदैन, यो केवल मानवबाट मानवमै सर्ने अमूल्य जीवनदायी तत्व हो। दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न रोगका बिरामीका लागि समयमै रगत उपलब्ध हुनु अत्यन्त आवश्यक हुन्छ। त्यसैले हरेक स्वस्थ नागरिकले नियमित रूपमा रक्तदान गर्नुपर्छ।”
विशेष अतिथिको रूपमा नेरेसो जिल्ला सभापति अर्मिला खड्काज्यू, नेरेसो जिल्ला निवर्तमान सभापति इन्द्रराज शर्माज्यू, उपमन्त्री एवं जुनियर युवा संयोजक डिल्लोराम बरालज्यू, उपशाखा समन्वयकर्ता वविता सुवेदीज्यू, समाजसेवी रजनी कोइरालाज्यू, तथा ब्लड बैंक प्रमुख अर्जुन चवालोज्यूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी नेरेसो उपशाखा–१७ का सभापति लक्ष्मी अधिकारीज्यू, निवर्तमान सभापति हरि प्रसाद श्रेष्ठज्यू, उपसभापति बीना लोहनीज्यू, कार्यक्रम सञ्चालक चुनामणि बरालज्यू लगायत सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम संयोजक रीता सुवेदीले सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“रक्तदान जीवनदान हो। आज ७० युनिट रगत संकलन हुनु सम्पूर्ण समुदायको एकता र सहयोगको परिणाम हो।
मानव सेवाभन्दा ठूलो धर्म केही हुँदैन। आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिनेछौं।”कार्यक्रम शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। रेडक्रसले सबैलाई नियमित रक्तदानमार्फत मानव सेवामा जोडिन आग्रह गरेको छ।
कार्यक्रमको सभापतित्व गरिरहनुभएकी नेपाल रेडक्रस सोसाइटी उपशाखा–१७ की सभापति लक्ष्मी अधिकारीले सहभागी सबैलाई आभार व्यक्त गर्दै र आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धताका साथ कार्यक्रम समापन गर्नुभएको थियो।
















