मुस्ताङ, गण्डकी — गण्डकी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको पर्यटन तथा उद्योग कार्यालय, मुस्ताङले स्थानीयस्तरमा लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन तथा पर्यटन विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ।
उक्त कार्यालयले स्वदेशी श्रम र सिपको सदुपयोग गरी उद्योग दर्ता तथा नविकरणको सुविधा प्रदान गर्दै आएको छ। प्राइभेट तथा साझेदारी फर्महरूलाई दर्ता, संशोधन, नविकरण, नामसारी, ठाउँसारी तथा खारेजीसम्बन्धी सम्पूर्ण प्रक्रिया यही कार्यालयमार्फत गरिन्छ। साथै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट दर्ता भइसकेका प्रा.लि. फर्महरूको अध्यावधिक कार्यसमेत कार्यालयले गर्ने व्यवस्था मिलाइएको छ।
स्थानीय जनशक्तिलाई उद्यमशील बनाउन विभिन्न उद्यमशिलता तथा सिप विकास तालिमहरू पनि समय-समयमा सञ्चालन गर्दै आइरहेको छ। साथै, उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि नयाँ प्रविधिको हस्तान्तरण गर्ने कार्यमा पनि कार्यालय सक्रिय छ।
बजार अनुगमन तथा उद्योगहरूको नियमित निरीक्षण गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पर्यटकीय योजना जस्तै पर्यटकीय बाटो, पार्क, हरितपार्क, चौतारी संरक्षण लगायतका कार्यक्रम सञ्चालन गर्नु कार्यालयको प्राथमिकतामा परेको छ।
यस्तै, पर्यटकीय होटल, लज, रेष्टुरा, रिजोर्ट तथा ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरूको दर्ता तथा नविकरणसम्बन्धी कार्यहरू पनि यही कार्यालयमार्फत हुँदै आएका छन्।
स्थानीय उद्यमी, व्यवसायी तथा पर्यटन व्यवसायमा आवद्ध व्यक्तिहरूका लागि यो कार्यालय एक सहायक केन्द्रको रूपमा स्थापित हुँदै गएको छ।