✍️ अजय क्षेत्री
स्याङ्जाको विरुवा गाउँपालिका–६ स्याङ्दीका माधव शर्मा, उनकी पत्नी गुञ्जेश्वरी शर्मा मरासिनी र हरिमाया शर्माले घर पुरिए पनि बाँचियो भनेर चित्त बुझाएका थिए ।
शनिबार बिहानै राम्चे भयरसिंह सामुदायिक वन हुँदै खसेको पहिरोले माधव–गुञ्जेश्वरीको घर पुरै पुरेको थियो । हेर्दाहेर्दै सँगै रहेको हरिमायाको पुरै घर पुरियो भने माधव–गुञ्जेश्वरीको घरमा पनि क्षति पुग्यो तर उनीहरु भने जोगिन सफल भएका थिए ।
ज्याग्दीखोला तटीय क्षेत्रका यी घरलाई सामुदायिक वन हुँदै नसोचेको ठाउँबाट पहिरो खसेर पुरेपछि उनीहरु सुरक्षित स्थानमा सरेका थिए । विरुवा–६ कै लामाखेत भन्ने ठाउँमा रहेको ईश्वरी लम्सालको घरमा उनीहरुले खाना खाँदै थिए ।
‘घर त पहिरोले पुर्यो, मान्छे बाँचियो भन्ने उहाँहरुलाई थियो । सुरक्षित स्थान भनेरै लामाखेतको ईश्वरी लम्सालको घरमा उहाँहरुलाई सारिएको थियो । जहाँ एउटा पसल र अर्को घर थियो । सुरक्षित स्थान भनेर सरको त्यहीँ घरमा पहिरो खस्यो र खाना खाँदाखाँदै तिनै जना पुरिनुभयो’, विरुवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर क्षेत्रीले घटना सुनाए, ‘यस्तो दुर्भाग्य रहेछ कि आफ्नो घरमा पहिरोबाट जोगिएर जहाँ सुरक्षित भनेर सारिएको थियो, त्यहीँ फेरि पर्नुभयो ।