✍️ अजय क्षेत्री
पोखरा — पोखरामा प्रशिक्षणरत युवा महिला हक्की खेलाडीलाई नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले खेल पोशाक हस्तान्तरण गरेकी छन्। पोखरा रंगशालामा आयोजित एक विशेष कार्यक्रममा श्रेष्ठले खेलाडीहरूलाई पोशाक वितरण गर्दै हौसला प्रदान गरेकी हुन्।
कार्यक्रममा उनले नेपालमा हक्की खेलको विकासका लागि संघ निरन्तर क्रियाशील रहेको उल्लेख गरिन्। महिला हक्कीसँगै समग्र नेपाली हक्कीको स्तर उकास्न संघले प्रशिक्षण र आवश्यक सामग्रीको व्यवस्था गर्दै आएको उनको भनाइ थियो। “आजको पोशाक वितरण पनि त्यसैको एक अंश हो,” श्रेष्ठले भनिन्।
गण्डकी प्रदेशको टिमले पछिल्ला प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै, श्रेष्ठले आगामी बैशाख महिनाबाट प्रदेशस्तरीय र राष्ट्रियस्तरका हक्की प्रतियोगिता सञ्चालन हुने जानकारी दिइन्। खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गर्दै उनले अनुशासन र समर्पणमार्फत अन्तर्राष्ट्रिय मञ्चमा स्थान बनाउन सकिने बताइन्।
श्रेष्ठका अनुसार नेपाली हक्की खेलाडीको हालैको प्रदर्शनले अन्तर्राष्ट्रिय हक्की संघ र एसियाली हक्की संघबाट समेत प्रशंसा प्राप्त गरेको छ। उनले यस सफलता निरन्तर कायम राख्न थप प्रयास भइरहेको स्पष्ट पारिन्।
कार्यक्रममा प्रशिक्षक हित गुरुङ, पोखरा महानगर खेलकुदका निवर्तमान अध्यक्ष दिपक बहादुर गोदार, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकीका अध्यक्ष गिरमान गुरुङलगायतको उपस्थिति रहेको थियो। प्रशिक्षक गुरुङले प्रशिक्षणमा सहभागी खेलाडीहरूको प्रगति सन्तोषजनक रहेको बताउँदै आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गरे।
उनले पोखरामा हक्की खेल मैदानको अभावले प्रशिक्षणमा चुनौती आइरहेको उल्लेख गर्दै आवश्यक पूर्वाधारको माग पनि गरे।