पोखरा, नेपाल — विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास र सामाजिक योगदानलाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘मिसेस कास्की नेपाल’ प्रतियोगिताका लागि आवेदन फारम खुला गरिएको छ। कार्यक्रमको आयोजना हेभेनली इभेन्ट म्यानेजमेन्टले गरेको हो।

प्रतियोगिताले विवाहित महिलाहरूको लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई आत्मबल सम्पन्न र सामाजिक रूपमा सशक्त बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ। हेभेनली इभेन्ट म्यानेजमेन्टका निर्देशक सफल सुवेदीका अनुसार, “यो प्रतियोगिता महिलाहरूका लागि आत्मप्रस्तुती, नेतृत्व र क्षमता प्रदर्शन गर्ने एक सशक्त मञ्च हुनेछ।”
यसअघि ‘लिटिल मिस मोन्टेसरी’, ‘लिटिल मिस्टर एण्ड मिस पोखरा’ तथा ‘मिस कास्की नेपाल’ जस्ता सफल कार्यक्रम आयोजना गरिसकेको यो संस्थाले आफ्ना अनुभव र व्यवस्थापन दक्षता प्रयोग गरी ‘मिसेस कास्की नेपाल’लाई अझ भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी गरिरहेको जनाएको छ।
इच्छुक विवाहित महिलाहरूले हेभेनली इभेन्ट म्यानेजमेन्टको कार्यालयमा वा तोकिएको अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। प्रतियोगिताको छनौट प्रक्रिया, प्रशिक्षण तालिका र फाइनल प्रतिस्पर्धाको मिति लगायतका थप विवरणहरू आयोजकले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।
यो प्रतियोगिताबाट विवाहित महिलाहरूलाई आफ्नो परिचय, आत्मविश्वास र सामाजिक भूमिकालाई अझ फराकिलो बनाउने अवसर प्राप्त हुने विश्वास लिइएको छ।