पोखरा – पोखरामा आज शनिबारदेखि २०औं फेवा नव वर्ष महोत्सव–२०८२ सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुने यो महोत्सव वैशाख १ गतेसम्म चल्नेछ ।
महोत्सवका अवसरमा यहाँ आउने पर्यटकलाई लक्षित गर्दै पोखराका विभिन्न होटलहरूले आफ्नो दररेटमा २० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा महोत्सव संयोजक लक्ष्मण सुवेदीले भक्तपुरको प्रसिद्ध विस्केट जात्रा यस वर्षको विशेष आकर्षणको रूपमा रहने जानकारी दिए ।
गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक सांस्कृतिक प्रस्तुति, बाजा, भजन, र रत्यौलीका कार्यक्रम महोत्सवको मुख्य आकर्षण बन्नेछन् ।
खहरेचोकदेखि ड्यामसाइडसम्मको सडक क्षेत्रमा आयोजना हुने महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परिकारहरूको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक खेलकुद तथा पर्यटक दौड प्रतियोगिता समावेश गरिएका छन् । यसपटकको नयाँ आकर्षणको रूपमा वाराही हस्पिटालिटी ग्रुपको प्रायोजनमा व्याडमिन्टन कप प्रतियोगिता पनि आयोजना हुँदैछ ।
त्यसैगरी कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी, प्रत्यक्ष पप कन्सर्ट, र लोक दोहोरी कार्यक्रमहरू पनि महोत्सवमा प्रस्तुत गरिनेछ ।
महोत्सवको प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् ।
यो महोत्सव पर्यटन, संस्कृति, र खानाको विविधता झल्काउने प्रमुख कार्यक्रमका रूपमा हरेक वर्ष पोखरामा मनाइँदै आएको छ ।