✍️ अजय क्षेत्री
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि उमेद्वारी चयनमा उथल पुथल भएको छ । अध्यक्षका आकांक्षी अर्जुन पोखरेलले अर्का अध्यक्षका आकांक्षी गोकर्णको टिमका भनिएका लगभग सबै पदाधिकारी आफ्नो पक्षमा तानेर उमेद्वारी घोषणा गरेका छन् ।
यही भदाै २८ र २९ गते पोखरा उद्योग बाणिज्य संघको ३५ औं अधिवेशन हुँदैछ । यो अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ । संघको अध्यक्ष बन्न गोकर्ण कार्की र अर्जुन पोखरेल आकांक्षी छन् ।
३४ औं अधिवेशनमा अध्यक्ष पदमा निर्वाचन लडेका अर्जुन पोखरेल यस पटक पनि चुनावी मैदानमा उत्रने तयारीमा थिए भने बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की स्वभाविक दावेदार थिए ।
३४ औं अधिवेशनमा पवन प्रजापतीको प्यानल नै विजयी भएकाले यस पटक पनि पवन कै प्यानलबाट विजयी भएका गोकर्ण कार्कीको टिमले निरन्तरता पाउने आँकलनका बीच एका एक उथल पुथल भएको छ । गोर्कर्णको टिमका भनिएका प्राय सबै पदाधिकारीले अर्जुन पोखरेलको टिमबाट उमेद्वारी घोषणा गरेका छन् ।
शनिबार अपरान्ह अर्जुन पोखरेलले आफ्नाे पदाधिकारीसहितको टिमको घोषणा गरेका छन् । अर्जुनको टिमबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ र उपमहासचिवमा बालकृष्ण कोइरालाले उमेद्वारी घोषणा गरेका छन् ।
यसअघि गोकर्णको टिमबाट वरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा दिनेशचन्द्र बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर ती सबैलाई समेटर अर्जुनले टिम घोषणा गरेका छन् ।
आफ्ना टिमका भनिएका अधिकांश अर्जुनको टिमबाट उमेद्वार बन्ने भएपछि के गर्ने भन्ने बारेमा गोकर्णले औपचारिक प्रतिक्रिया दिएका छैनन् ।