✍️ सागर गिरी
पोखरा महानगरपालिका वडा नम्बर १७, बेलघारी खहरे मार्गस्थित गोरेटो बाटोको मर्मत तथा निर्माणको माग गर्दै स्थानीयवासीले सांसद भीम बहादुर कार्कीलाई भेट गरेका छन्। उक्त टोलका वृद्ध, बालबालिका, र स्थानीय बासिन्दालाई वर्षायाममा हिँडडुल गर्न असहज हुने समस्याको समाधान गर्न भन्दै टोलवासीले बारम्बार बजेटको माग गरेका थिए।
सम्बन्धित मर्मत तथा निर्माण कार्यको लागि सम्पूर्ण आवश्यक कागजात बुझाए पनि हालसम्म बजेट विनियोजन नभएको स्थानीयले गुनासो गरेका छन्। स्थानीयबासीले यस विषयमा सत्तारूढ दलका सांसद भीम बहादुर कार्की र उनका स्वकीय सचिव दुर्गा लामिछानेलाई पटक-पटक जानकारी गराए पनि बजेटको कुनै सुनुवाइ भएको थिएन।
यसैक्रममा, सांसद कार्की र सचिव लामिछानेले टोलमा पुगेर समस्या समाधानको आश्वासन दिएका छन्। टोलवासीको विशेष आग्रहमा सांसद कार्कीले प्रत्यक्ष रूपमा गोरेटो बाटोको निरीक्षण गर्दै समस्या बुझ्नुभएपछि, उनले टोलका विभिन्न बाटोहरूको मर्मत तथा निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सांसद कार्कीको यो प्रत्यक्ष सहभागिताले टोलवासीमा केही आशा पलाएको छ। अब, आगामी दिनमा बजेट विनियोजन भई समस्याको समाधान हुने अपेक्षा टोलबासीले गरेका छन्।