खेलकुद विकास मञ्च पोखराको आयोजनामा आजबाट (शुक्रबार) स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शुक्रबार पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।

कुल ३६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्नेछन् ।

वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उनले सुनाए । मञ्चले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा दिदीबहिनी ढुंगेखोला सिमाना मार्गकी अध्यक्ष रेनुका गौतम, ढुंगेखोला टोल विकास संस्थाका अध्यक्ष विश्वनाथ पौडेल, पोखरा उद्योग वाणिज्य संघका सदस्य लिला चपाईँ, बागलुङ कालिका मेडिको फर्माका टेकराज सापकोटा, स्व. याम थापाका श्रीमती जसुना थापा, नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालय प्रमुख राजेन्द्र सिंह लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अञ्जली भुषालले राखेकी थिइन् भने कार्यक्रम संचालन मनिषा ज्ञवालीले गरेकी थिइन् ।