काठमाडौंबाट १६ वर्ष अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र मासिकले वर्ष १६, अङ्क ९, पूर्णाङ्क १६१ (चैत २०८१) लाई शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्कको रूपमा प्रकाशित गरेको पाइएको छ । पोखरामा यही २०८१ चैत १७ देखि २०८२ जेठ २६ सम्म हुने भनिएको कोटिहोमको सम्पूर्ण विषयवस्तु समेटिएको अग्निचक्र मासिकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका व्यक्तित्वहरुको शुभकामना-मन्तव्य प्रकाशित छ । यसका अलावा पोखरा महानगरपालिका मेयर र पोखराका सिडियोको समेत शुभकामना प्रकाशित भएको देखिन्छ ।
पोखराका समाजसेवी-अभियन्ताहरु एवं कास्की जिल्ला क्षेत्रका स्थानीय जनप्रतिनिधिहरु, उद्योगी, पर्यटन व्यवसायीहरु, समाजसेवीहरु, विद्वान् पोखरेलीवासीहरुको अन्तर्वार्ता तथा शुभकामना समेत प्रकाशित भएको अग्निचक्र २०८१ चैत अङ्कको विशेष-अङ्कमा कोटिहोम हुने स्थान पोखरा-१७, बिरौटाका भद्रभलाद्मीहरु, आमा समुह, युवाक्लब लगायतका संघ संस्थाको पनि कोटिहोम सफलताको कामना गर्दै एकमुष्ट शुभकामना छापिएको पाइएको छ ।
बालयोगेश्वोर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटाको प्रतीक्षामा आम पोखरावासी तथा ७७ वटै जिल्लाका सनातन धर्मप्रेमीहरु कोटिहोम शुरु हुने मिति पर्खेर बसेका कुरा अग्निचक्र मासिक २०८१ चैत अङ्कमा प्रकाशित भएको छ ।
गत फागुनको अंकमा पनि अग्निचक्रले श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क प्रकाशित गरेको थियो । समानान्तरले त्यतिबेला पनि यसरी नै समाचार बनाएका थियौं । लक्ष्मी नारायण भट्टराई सम्पादक/प्रकाशक रहनु भएको तथा ४० पेजमा प्रकाशित हुने गरेको अग्निचक्रको यो विशेष-अङ्कका प्रमुख खबरहरुलाई यहाँ फोटो खिचेर राखेका छौँ :—–




































