गोरखा— श्री गण्डकी कोटिहोम महायज्ञको अवसरमा गत चैत्र २९ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी बाल विदुषी सुश्री अनुराधा पाण्डेयलाई एक विशेष कार्यक्रमको आयोजना गरी आज सम्मानपूर्वक विदाई गरिएको छ।
एक साता लामो संगितमय श्रीमद्भागवत कथा प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गरेकी पाण्डेयलाई महायज्ञको पूर्वसन्ध्यामा आयोजक समितिले विदाई गरेको हो। कार्यक्रमका क्रममा आयोजक संस्था तथा श्रद्धालु भक्तजनले उनको ज्ञान, साधना र समर्पणको प्रशंसा गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरे।
अनुराधा पाण्डेयको विदाईपछि भोलिदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभा ज्यूले श्रीमद्भागवत कथा प्रवचन सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ।
यसै क्रममा अन्य ख्यातिप्राप्त प्रवचनकर्ता—आचार्य श्री शितल कृष्ण महाराज, प्रख्यात वक्ता अमृत शरण देवाचार्य ज्यू, र चर्चित प्रवचनकर्मी सुप्रिया किशोरी ज्यूले पनि विभिन्न आध्यात्मिक तथा धार्मिक विषयमा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
श्री गण्डकी कोटिहोम महायज्ञले धार्मिक चेतना, आध्यात्मिक उन्नति तथा सामाजिक समरसता प्रवर्द्धन गर्ने उद्देश्यले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।