✍️ अजय क्षेत्री
कास्की — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने बताएका छन्।
नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले बीआरआई परियोजनाअन्तर्गत सडक, सुरुङलगायत भौतिक पूर्वाधारका क्षेत्र छनोट गरेर अनुदान लिनुपर्नेमा जोड दिए। उनले भने, “वर्तमान आर्थिक अवस्थाका कारण ऋणका लागि ऋण लिनु उपयुक्त देखिँदैन। परियोजना सम्पन्न गर्न समय लाग्ने र पछि सरकारलाई ऋण तिर्न गाह्रो हुने भएकाले अनुदान लिने विकल्प सही हुनेछ।”
सिंहले मुलुकमा स्थायित्व कायम गर्न, आर्थिक समृद्धि हासिल गर्न र जनताका भावनाअनुरूप काम गर्न संसद्का दुई ठूला दलबीच सहमति र सहकार्यका आधारमा वर्तमान सरकार गठन भएको उल्लेख गरे।
त्यसैगरी, सरकार सहकारीसहित अन्य अनियमितताहरूको कानुनअनुसार अनुसन्धान अघि बढाइरहेको उनले जानकारी दिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले ठोस प्रयास गरिरहेको उनको भनाइ थियो।