बेपत्ता छानबिन आयोगको सदस्यमा पोखराकी अधिवक्ता विनिता नेपाली नियुक्त भएकी छन्। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्षको रूपमा महेश थापा नियुक्त भएका छन् भने बेपत्ता छानबिन आयोगको अध्यक्षमा लीलादेवी गड्तौला नियुक्त भएकी छन्।
सरकारले आयोगमा अध्यक्ष बाहेक थप चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ। सत्य निरुपण आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा. टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) रहेका छन्।
त्यस्तै, बेपत्ता छानबिन आयोगका सदस्यहरूमा विनिता नेपाली (पोखरा) का साथै गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा) र सिर्जना पोखरेल (काठमाडौं) रहेका छन्।
सरकारले दुवै आयोगका पदाधिकारीहरूको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोगको सरह हुने निर्णय पनि गरेको छ।
यी आयोगहरू द्वन्द्वकालीन घटनाहरूको सत्य उजागर र पीडितलाई न्याय दिलाउने उद्देश्यले सक्रिय छन्।