पोखरा — पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको छ। पहिलो सेट २३–२५ ले गुमाएको भारतीय टोलीले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै क्रमशः २५–२१, २५–२१ र २८–२६ को जित निकालेको हो।
समूह ‘बी’ अन्तर्गत अब नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको नतिजाले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुंगो लगाउनेछ।
यसअघि भएको समूह ‘ए’ अन्तर्गतको खेलमा इरानी टोलीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। यसअघि इरानले एपीएफलाई पनि ३–१ को सेटले हराएको थियो।
शनिबार समूह ‘ए’ अन्तर्गतको अन्तिम खेल गण्डकी प्रदेश र एपीएफबीच हुनेछ। दिउँसो १२:३० बजे सुरू हुने उक्त खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ। त्यसपछि आर्मी र पुलिसबीचको निर्णायक खेल हुनेछ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ४४ हजार ४४४, तेस्रो हुने टोलीले १ लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागत उत्कृष्ट खेलाडीहरूलाई ८ हजार ४४४ रुपैयाँ पुरस्कार दिइनेछ।