काठमाडौं – नेपाल सरकारले भारतको पहलगाममा अप्रिल २२, २०२५ मा भएको आ’तंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा सो आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरिएको छ। विज्ञप्तिमा नेपालले यस्ता आ’तंककारी कार्यहरूको कडा शब्दमा निन्दा गर्दै आतंकवादलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
नेपाल सरकारले आफ्नो भूमि कुनै पनि छिमेकी राष्ट्रविरुद्ध आक्रोश उत्पन्न गराउने कार्यका लागि प्रयोग गर्न नदिने अडान दोहोर्याएको छ। साथै, उसले क्षेत्रीय शान्ति, स्थिरता र संवादमार्फत् तनाव न्यूनीकरणमा आफू सधैं प्रतिबद्ध रहेको जनाएको छ।
सरकारको धारणा यस्ता घटनाहरूको पृष्ठभूमिमा नेपालले निरपेक्ष, शान्तिप्रिय र क्षेत्रीय समन्वयमा विश्वास राख्ने देशको रूपमा आफ्नो नीति पुनः पुष्टि गरेको देखिन्छ।