भूर्तेल बन्धु समाज नेपाल कास्कीको आठौं वार्षिक साधारण सभा तथा नियमित कुलपूजा कार्यक्रम सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज भूर्तेलले गरे।
उद्घाटन मन्तव्यमा उनले भूर्तेल बन्धु समाजको नाममा सञ्चालित एक मात्र विद्यालय “भूर्तेल प्राथमिक विद्यालय” भूर्तेल समाजका लागि गौरवको विषय भएको बताए। जन्मथलोप्रतिको समर्पण व्यक्त गर्दै उनले नवलपुरलाई कर्मथलो बनाएपनि कास्कीलाई सधैं सम्झिरहने बताए। साथै उनले सडक विकास र कुलमन्दिर निर्माणमा राज्य र समाज मिलेर जुट्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडाबाट हुने सबैखाले सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै विकास निर्माणलाई राजनीतिकरण गर्नु नहुने धारणा राखे।
समारोहमा भूर्तेल बन्धु समाज कास्कीका सल्लाहकार कृष्णमणी भूर्तेल, लक्ष्मीप्रसाद भूर्तेल, बास्तोला कुल सेवा समितिका अध्यक्ष हरिप्रसाद बास्तोला, तथा भूर्तेल बन्धु समाज केन्द्रीय तदर्थ समिति संयोजक लिलाकृष्ण भूर्तेल लगायतले समाजको योगदान र ऐतिहासिक महत्वका विषयमा मन्तव्य व्यक्त गरे।
अध्यक्ष केपी भूर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक यादवचन्द्र भूर्तेल, कोपिला भूर्तेल, ढुसुरी भूर्तेल, र यमनाथ भूर्तेललाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो। त्यस्तै, समाजमा विशेष योगदान दिने कृष्णमणी–पार्वती भूर्तेललाई सम्मान गरिनुका साथै कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुस्मिता भूर्तेललाई पनि सम्मान गरियो।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसी भूर्तेल, केन्द्रीय तदर्थ समिति पदाधिकारी एवं अन्य सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।















