पोखरा । युनाईटेड क्लबको आयोजनामा १४औँ संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको छ । ‘युवाको जाँगर राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ महोत्सव पुस २९ गतेदेखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।
शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक दिनेश सुनारले जानकारी दिए । उनका अनुसार महोत्सवमा करिब २ लाख २० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ ।
महोत्सवमा विभिन्न जातजातिको कला, संस्कृति, हस्तकलाका सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ । साथै पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्रीको प्रदर्शन र जानकारी प्रदान गरिने संयोजक सुनारले बताए ।
महोत्सवमा २५० वटा स्टल रहनेछन् । फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कार्यक्रममा रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, अर्जुन सापकोटा, शान्तारानी परिवार, अस्मिता अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । कन्सर्टतर्फ पूर्ण राई, डि मर्चा, लेकाली, जेम्सी, सविन राई, भिटेन, लाहुरे, टुकीलगायतले प्रस्तुति दिनेछन् ।
क्लबले पोखरा–२७ अर्चलडाँडामा युनाईटेड छात्रावास निर्माण गर्न लागेको क्लबका पूर्वअध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । महोत्सवबाट प्राप्त आम्दानी छात्रावास निर्माणमा खर्च गरिने उनले बताए ।
अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइरालाले विद्यालयको पठनपाठन तथा गतिविधिमा असर नपुग्ने गरी कार्यक्रम आयोजना गरिएको बताए । क्लबले विद्यालयलाई विभिन्न सहयोग गर्दै आएको र विद्यालयको जग्गा संरक्षणमा समेत भूमिका खेलेको उनले उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले उद्देश्यकेन्द्रित कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिँदै महोत्सवले स्थानीय व्यवसाय, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा कति योगदान पुर्याएको छ भन्ने विषयमा आयोजकले आत्ममूल्यांकन गर्नुपर्ने बताए ।
















