✍️ विवेक न्याैपाने
कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी वकिल र प्रहरीले बयानमा ढिलासुस्ती गरेको आरोप लगाउँदै बुधवार जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान कक्ष नछोड्ने अडान लिएका छन्। लामिछानेले प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने उद्देश्यले अनुसन्धानकर्ताहरूले बयान प्रक्रियामा जानाजानी ढिलाइ गरेको बताएका छन्।
बुधवार दिउँसो सुरु भएको बयानमा लामिछानेलाई जम्मा तीन वटा प्रश्न सोधेर सोही दिनको बयान सकिएको घोषणा गरिएको थियो। यद्यपि, लामिछानेले आफू बयानका लागि पूर्ण रूपमा तयार रहेको र सबै प्रश्न सोध्न आग्रह गरेका थिए। “उनीहरु बयान गराउन नमानीकन उठ्न खोजे,” स्रोतले भने, “रविले भने, ‘म तयार छु, समय छ, प्रश्न भए सकौँ तर उनीहरु मानेनन्।'”
लामिछानेले बुधबार दिनभर सरकारी वकिल कार्यालयमा आफूलाई अनावश्यक रुपमा अल्मल्याइएको बताए। “हिजो पनि दिनभर अलमलमा राखियो, आज पनि बयान हुने भनिएर ३ बजेबाट मात्रै सुरु भयो र तीन प्रश्न सोधेर समय सकियो भनियो,” लामिछानेले भने।
बयानको क्रममा रवि लामिछानेले कुर्सी नछोड्ने अडान लिएपछि अनुसन्धान अधिकारीहरू अन्योलमा परेका थिए। अदालतमा बयान प्रस्तुत गर्ने क्रममा प्रहरी र सरकारी वकिलको ढिलासुस्तीले हिरासत अवधि लम्ब्याउने नियत देखिएको लामिछानेको आरोप छ।