✍️ अजय क्षेत्री
पोखरा, मंसिर १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले वर्तमान सरकारको विरोधमा आन्दोलन चर्काउन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन्। पोखरामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारले षड्यन्त्र र तानाशाही प्रवृत्ति देखाइरहेको आरोप लगाउँदै यस्तो स्थितिको विरोधमा एकजुट हुन जरुरी रहेको बताइन्।
गौतमले आफ्नो सम्बोधनमा भनिन्, “यो सरकारको षड्यन्त्र र तानाशाही प्रवृत्तिका विरुद्ध हामीले आन्दोलन छेड्नैपर्छ। तपाईंहरुलाई आह्वान गर्छु, देश विदेश जहाँ हुनुहुन्छ, यो सरकारको विरोध गर्न आउनुस्। यो सरकारको विरोध गर्नैपर्छ।”
उनले उपस्थित सबैलाई आन्दोलनको तयारीमा लाग्न र सरकारको गतिविधिको विरोध गर्न आग्रह गरिन्। गौतमको भनाइले रास्वपा भित्र थप आन्दोलनको तयारी भइरहेको संकेत गरेको छ।
सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै रास्वपा नेतृत्वले आगामी दिनमा थप विरोध कार्यक्रम गर्ने तयारी गरिरहेको जनाइएको छ।