पोखरा महानगरपालिका–सिमलचौरस्थित लिटल स्टेप उच्च माध्यमिक विद्यालयमा शिक्षक, कर्मचारी तथा नयाँ व्यवस्थापन समितिका सदस्यहरूबीच शुभकामना आदानप्रदान, अन्तरक्रियात्मक र परिचयात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा शिक्षाविद् पदम बस्ताकोटी, डा. हरि कार्की, डा. कैलाश तिमिल्सिना, इन्जिनियर मिलन पौडेल, युवा व्यवसायी विवेक पौडेल, प्लस टु कोअर्डिनेटर विनोद गिरी तथा विद्यालयमा आबद्ध ५० भन्दा बढी शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो।उद्घाटन डा. हरि कार्कीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका कोअर्डिनेटर दुर्गा पौडेलले गर्नुभएको थियो।

संस्थापक प्रिन्सिपल पम्फा गुरुङले सम्बोधन गर्दै विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको करिब ४३ वर्षे शैक्षिक यात्रा, भोगिएका चुनौती र उपलब्धिहरूको चर्चा गर्नुभयो। उहाँले विद्यालयको गुणस्तरीय शिक्षा प्रवाह र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षक, कर्मचारी र व्यवस्थापन समितिको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।उहाँले नयाँ व्यवस्थापन समितिका सदस्यहरूलाई उच्च मूल्याङ्कनसहित जिम्मेवारी प्रदान गर्नुभएको साथै पुराना कर्मचारी र शिक्षकहरूको योगदानको प्रशंसा गर्नुभयो। साथै आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री, विद्यार्थी केन्द्रित र गुणस्तरीय बनाउने लक्ष्यमा विद्यालय परिवारले सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा पदम बस्ताकोटीले विद्यार्थी भर्ना वृद्धि र हालको करिब ७ सय विद्यार्थी सङ्ख्यालाई १४ सयसम्म पुर्याउने योजना अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। डा. कैलाश तिमिल्सिनाले STEM आधारित शिक्षा, प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिनुपर्ने र AI तथा नयाँ प्रविधिको प्रयोगमार्फत विद्यालयलाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्नुभयो।अन्त्यमा विद्यालयका संस्थापक शेरबहादुर गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। करिब तीन घण्टा सञ्चालन भएको उक्त कार्यक्रम पोखराको जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेस एन्ड ब्याङ्क्वेटमा सम्पन्न भएको थियो।कार्यक्रम “परिचयबाट विश्वास, विश्वासबाट सफलता” भन्ने मूल नारासहित सम्पन्न भएको थियो।
















