लेकसाईडका मदिरा व्यवसायीहरूले वडा प्रहरी कार्यालय बैदाम, कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष निरौलालाई विशेष कार्यक्रममार्फत बिदाइ गरेका छन्। आज आयोजित कार्यक्रममा व्यवसायीहरूले डिएसपी निरौलालाई सम्मानसहित बिदाइ गरेका हुन्।

कार्यक्रम लेकसाईडस्थित डिएसपी निरौलाकै कार्यकक्षमा आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै लेखसाईड व्यवसायी संघका अध्यक्ष रोषन देवकोटाले निरौलाले “घरघरमा प्रहरी” अभियानदेखि लिएर व्यवसायीहरूको हकहितमा उल्लेखनीय कार्य गर्दै सम्पूर्ण व्यवसायीको मन जितेको उल्लेख गरे।
“डिएसपी सरुवा हुँदा हामीलाई दुःख लागेको छ,” अध्यक्ष देवकोटाले भने, “व्यवसाय सञ्चालनका क्रममा रक्तदान, गजल वाचन, ताल सरसफाइ, प्रहरी समन्वय तथा अन्य सामाजिक सेवाहरूमा समेत हामीले निरौलाज्यूसँग सहकार्य गरेका थियौं।”
देवकोटाले व्यवसायीहरूलाई आइपर्ने समस्याहरूमा प्रशासन र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरेर निरौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। कार्यक्रममा डिएसपी निरौलाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी र संघसंस्थाप्रति धन्यवाद व्यक्त गरे।

उक्त बिदाइ कार्यक्रम डिएसपी निरौलाको काज सरुवा भएको जानकारीसँगै गरिएको हो। हालै जिल्ला प्रहरी कार्यालयमार्फत एक वर्ष कार्यकाल पूरा गरेका २० जना डिएसपीहरूको काज सरुवा गरिएको छ। सोही क्रममा डिएसपी निरौलाको स्थानमा डिएसपी नमराज भट्टराई नयाँ कार्यालय प्रमुखको रूपमा वडा प्रहरी कार्यालय बैदाम, पोखरा आउँदै छन्।

कार्यक्रममा विभिन्न व्यवसायी, सामाजिक अभियन्ता, पत्रकार तथा प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो