पोखरा, वडा नं. २६ — पोखरा महानगरपालिका वडा नं. २६ का वडा अध्यक्ष नरेन्द्र थापा ‘नरेन’ले आफ्नो निजी गाडीलाई वडाबासीको सेवा गर्न २४ घण्टा एम्बुलेन्स तथा शववाहनको रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाएका छन्।
आज सम्पन्न भएको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा उनले वडामा कसैलाई आकस्मिक बिरामी परेमा वा कसैको मृत्यु भएमा आफ्नो निजी सवारी साधन तुरुन्तै निःशुल्क रूपमा सेवा दिन तयार रहेको जनाउँदै यस्तो सराहनीय घोषणा गरेका हुन्।
“वडामा कुनै पनि नागरिक उपचार नपाएर वा शव लिएर जान सवारी साधनको अभावमा अप्ठ्यारोमा पर्नु नपरोस् भन्ने सोचले मैले यो निर्णय गरेको हुँ,” वडा अध्यक्ष थापाले भने।
उनले आवश्यक परेको खण्डमा वडाबासीले सिधा आफूलाई सम्पर्क गर्न सक्ने बताए। यस घोषणाले वडाबासीबीच उत्साह थपेको छ र सामाजिक सेवाप्रति वडा अध्यक्ष थापाको प्रतिबद्धता पुनः पुष्टि भएको छ।
स्थानीयबासीहरूले यस्तो सेवा प्रवाहलाई सकारात्मक रूपमा लिँदै धन्यवाद व्यक्त गरेका छन्।