काठमाडौं — नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गौतम बुद्धले दिएको शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश आजको समाजका लागि अमूल्य उपहार भएको बताएका छन्। २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष गुरुङले यी चार तत्वलाई बुद्धले मानव सभ्यताका लागि दिएका अतुलनीय प्रकाशस्तम्भको रुपमा चित्रण गरेका छन्।
‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
बुद्ध जयन्तीले हामीलाई बुद्धको जन्म, बोधि प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने अवसर भएको बताउँदै उनले भने, ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्।’
गुरुङले बुद्ध जयन्तीको सन्दर्भमा देशमा रहेका बेथितिहरूको अन्त्य गर्दै समृद्ध र शान्तिपूर्ण नेपाल निर्माणतर्फ सबैले लाग्नुपर्ने धारणा व्यक्त गरे।
यसै अवसरमा परम्परागत रुपमा मनाइने उभौली पर्वको पनि स्मरण गर्दै उनले बाली राम्रो लागोस्, सप्रीयोस्, खाद्यान्नको कमी नहोस् भन्ने कामना समेत व्यक्त गरे।