पोखरा – गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवद्र्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यले मानव सेवा फाउण्डेशनद्वारा आयोजित “श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२” आगामी ४१ दिनसम्म पोखरा महानगरपालिका–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा भव्य रूपमा आयोजना हुँदैछ।
मिति २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म सञ्चालन हुने यस महायज्ञमा दैनिक हवन, प्रवचन, कथा, भजन तथा विविध धार्मिक र सांस्कृतिक गतिविधिहरू गरिने छन्। वैशाख ३ गते भूमिपूजन तथा यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेको छ भने चैत्र २९ गतेदेखि सुश्री अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रारम्भ गरिएको छ। देवी प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरी लगायतका प्रमुख धर्मगुरुहरूले पनि दैनिक प्रवचन र कथावाचन गरिरहेका छन्।
वैशाख १६ गतेदेखि राष्ट्रियस्तरका धार्मिक वक्ता र सांस्कृतिक कलाकारहरूको सक्रिय सहभागिता रहने बताइएको छ। कथा वाचन, सत्सङ्ग, आरती, पूजापाठ तथा भजनसन्ध्या जस्ता विविध कार्यक्रमहरूले महायज्ञको धार्मिक र सांस्कृतिक रौनक थप्ने अपेक्षा गरिएको छ।
महायज्ञको प्रचार–प्रसार र युवा पुस्तालाई सिर्जनशील अभिव्यक्तिमा जोड्न सामाजिक सञ्जाल छोटा भिडियो प्रतियोगिता पनि सञ्चालन गरिएको छ। यस प्रतियोगितामा पहिलो पुरस्कार रु २५,०००, दोस्रो रु २१,०००, तेस्रो रु १७,००० र प्रशंसनीय पुरस्कार रु १३,००० रहेको छ। प्रतियोगितामा “#मानवसेवाफाउण्डेशन” र “#गण्डकीकोटिहोम” ह्यासट्याग ट्याग गर्नु अनिवार्य गरिएको छ।
त्यसैगरी, वैशाख १७ देखि जेठ २० सम्म हुने खुल्ला राष्ट्रिय भजन प्रतियोगितामा लाखौँ रुपैयाँ पुरस्कार वितरण गरिनेछ। प्रथम स्थानका लागि रु ३,५५,५५५, दोस्रोका लागि रु २,५५,५५५, तेस्रोका लागि रु १,५५,५५५, शान्त्वना पुरस्कार रु ६५,५५५ र उत्कृष्ट १० विधामा रु २५,५५५ पुरस्कारको व्यवस्था गरिएको छ। कास्की, गण्डकी तथा अन्य प्रदेश र विदेशबाट आउने समूहहरूलाई समेत रु ५,००० देखि १५,००० सम्म प्रोत्साहन पुरस्कार दिइनेछ।
यसैबीच, जेठ १ देखि २५ सम्म सञ्चालन हुने वक्तृत्वकला प्रतियोगितामा पनि आकर्षक पुरस्कार व्यवस्था गरिएको छ, जसमा प्रथम हुनेलाई रु ५१,१५१, दोस्रोलाई रु ४१,१४१, तेस्रोलाई रु ३१,१३१ र चौथो हुनेलाई रु २१,१२१ प्रदान गरिनेछ। प्रतियोगितामा कास्कीबाहिरका सहभागीलाई यातायात खर्च तथा एसईई परीक्षार्थीलाई सहभागी हुन विशेष अवसर दिइएको छ।
गण्डकी प्रदेशका विभिन्न जातजातिका मौलिक बाजा तथा सांस्कृतिक झाँकीसमेत प्रदर्शनी गरिने भएको छ। उत्कृष्ट झाँकी प्रस्तुत गर्ने समूहलाई नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ। प्रथम हुनेलाई रु ३१,१३१, दोस्रोलाई रु २५,५२५, तेस्रोलाई रु २१,१२१ र चौथोलाई रु १५,५१५ को पुरस्कार प्रदान गरिनेछ। कास्कीबाहिरका सांस्कृतिक समूहलाई आउने–जाने बस खर्चको व्यवस्था गरिएको छ।
प्राज्ञ प्रजापति पराजुलीको संयोजकत्वमा सञ्चालन भइरहेको यस विराट महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धन, सामाजिक समरसता तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा दीर्घकालीन योगदान दिने विश्वास गरिएको छ। यो महायज्ञ पोखरेली समाजको साझा उत्सव र राष्ट्रिय एकताको जीवन्त प्रतीकका रूपमा स्थापित हुँदैछ।