पोखरा – पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राम मोहन आचार्यले श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन्। पोखरा–१७, बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक महायज्ञमा मंगलबार प्रमुख अतिथिको रूपमा सहभागी भएका अध्यक्ष आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन्।
“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ,” उनले भने, “पछिल्लो समय देखिएका सामाजिक विकृतिहरू हटाउन यो महायज्ञ प्रभावकारी माध्यम बन्नेछ। म त भन्छु, हाम्रो आगनमै भइरहेको यस्तो पुण्य कार्यको दर्शन नगर्ने व्यक्ति साँचो अर्थमा पोखरेली हुन सक्दैन।”
उनले महायज्ञप्रति गर्व व्यक्त गर्दै पोखरेली समुदायले यसमा पूर्ण साथ र सहयोग गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे। “हामी सबैले यस घडीमा सहकार्य नगरे ठूलो गल्ती हुनेछ,” उनले थपे।
वडा अध्यक्ष आचार्यले सन् २०२५ लाई पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पर्यटन वर्ष’ सफल बनाउन पनि यस्ता धार्मिक गतिविधिहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। उनका अनुसार कोटिहोम महायज्ञ जस्तो आध्यात्मिक आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ।
महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन कार्यक्रम पनि सञ्चालन भइरहेको छ। चर्चित अन्तर्राष्ट्रिय कथा प्रवक्ताद्वय देवी प्रतिभा ज्यू र सुप्रिया किशोरी लगायत वक्ताहरूले प्रवचन दिइरहेका छन्। दिनप्रतिदिन भक्तजन र दानवीरहरूको उपस्थिति उल्लेखनीय रुपमा बढिरहेको आयोजकले जनाएको छ।