पोखरा, कास्की — सडक डिभिजन कास्कीले एक सूचना प्रकाशन गर्दै सबै नागरिकलाई सडक सुरक्षामा सहकार्य गर्न आह्वान गरेको छ। “सडक हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गरौं” भन्ने मूल सन्देशसहित सार्वजनिक गरिएको सूचनामा सडक प्रयोग सम्बन्धी महत्वपूर्ण निर्देशनहरू समेटिएका छन्।
सूचनामा भनिएको छ कि सडक सीमाभित्र सार्वजनिकहित प्रतिकूल हुने, ट्राफिक सुरक्षामा बाधा पुग्ने कार्यहरू नगर्न अनुरोध गरिएको छ। साथै राजमार्ग तथा सहायक मार्गहरूमा कुनै पनि प्रवेश मार्ग निर्माण गर्नु परेमा पूर्व स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरिएको छ।
सडक डिभिजनले सडक छेउको पेटीमा निर्माण सामग्री वा अन्य वस्तुहरू नराख्न, पैदलयात्रीहरूलाई सडकको पेटी र किनाराबाटै हिँड्ने बानी बसाल्न र सडक तथा नालीमा जथाभावी फोहोर नगर्न आग्रह गरेको छ।
“सबैले ट्राफिक नियम पालना गरौं, सडक प्रयोग गर्दा पूर्ण होसियार रही सभ्य नागरिकको परिचय दिऔं,” सूचनामा उल्लेख गरिएको छ।
नेपाल सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन पोखराले सार्वजनिक गरेको यो सूचना सडक सुरक्षामा नागरिकको सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिन्छ।
सडक डिभजन कास्कीको यो पहलले स्थानीय तहदेखि सबै नागरिकसम्म सचेतना फैलाउने विश्वास गरिएको छ।