पोखरा, २७ माघ
विद्यार्थीहरूको हकहित संरक्षण, क्षमता विकास र सामाजिक सेवामा सक्रिय रहने उद्देश्यका साथ पोखरामा ‘लेक सिटी स्टुडेन्ट वेलफेयर क्लब’ (Lakecity Student Welfare Club) को विधिवत् स्थापना गरिएको छ। हालै सम्पन्न विद्यार्थीहरूको एक विशेष भेलाले सफल सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नवगठित समितिको प्रथम उपाध्यक्षमा रोजिना वाग्ले र द्वितीय उपाध्यक्षमा पवित्रा सुवेदी चयन हुनुभएको छ। यस्तै, संस्थाको सचिवालयको जिम्मेवारी सचिवमा उमेन्द्र गुरुङ र सह-सचिवमा निश्चल उदासलाई दिइएको छ भने संस्थाको आर्थिक पारदर्शिताको जिम्मेवारी कोषाध्यक्षमा सन्देश शर्मा चयन हुनुभएको छ।
क्लबलाई संस्थागत मार्गदर्शन र अभिभावकत्व प्रदान गर्नका लागि वरिष्ठ व्यक्तित्व शोभाकान्त सिग्देललाई क्लबको सल्लाहकार (Advisor) को रूपमा मनोनित गरिएको छ।
समितिको सदस्यहरूमा एभिक कर्माचार्य, निकिता सुवेदी, शिशिर बरुवाल, सुवोध गायक र प्रशंसा कायस्थ रहनुभएको छ। ऊर्जावान युवाहरूको सहभागिता रहेको यो समितिले विद्यार्थी क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।
नवनियुक्त अध्यक्ष सफल सुवेदीले पदभार ग्रहण गर्दै भन्नुभयो— “हाम्रो मुख्य उद्देश्य विद्यार्थीहरूका समस्या समाधानमा पुलको काम गर्ने र समाजमा सकारात्मक प्रभाव पार्ने रचनात्मक गतिविधिहरू सञ्चालन गर्नु रहनेछ। हामी केवल सैद्धान्तिक कुरामा मात्र सीमित नभई व्यवहारिक परिवर्तनका लागि काम गर्नेछौँ।”
यस क्लबले आगामी कार्ययोजना अन्तर्गत शैक्षिक कार्यशाला, विद्यार्थीहरूका लागि छात्रवृत्ति समन्वय, नेतृत्व विकास तालिम र विभिन्न सामाजिक चेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने लक्ष्य राखेको छ। पोखराका विद्यार्थीहरूको चौतर्फी विकासका लागि यो क्लब एउटा दरिलो र साझा प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ।
















