स्वतन्त्र पत्रकार सङ्घ कास्कीको उपाध्यक्षमा ब्राइटर मिडियाका पत्रकार एवम् सम्पादक डिआर काफ्ले निर्वाचित भएका छन् ।
पोखरामा बिहीबार सम्पन्न भएको संस्थाको बाह्रौँ साधारण सभा एवम् छैटौँ अधिवेशनले काफ्लेलाई उपाध्यक्षमा निर्वाचित गरेको हो।
कास्कीमा रहेर पत्रकारिता सुरु गरेका उनी स्वतन्त्र पत्रकार महासङ्घ कास्कीको सदस्य, सहसचिव हुँदै उपाध्यक्षसम्मको यात्रा तय गरेका छन् ।
काफ्ले लामो समय देखि रेडियो पत्रकारितामा छन् । उनी पछिल्लो समय रेडियो सँगै अनलाइन सञ्चार माध्यमका सम्पादक पनि हुन् । पत्रकारिता समाजको ऐना हुनुपर्ने मान्यता राख्ने उनले अर्थशास्त्र र गणितका साथै आम सञ्चार र पत्रकारिता विषयको पढाई सकाएका छन् ।
समाजका वस्तुस्थितिलाई यथार्थपरक ढङ्गले जनताको पक्षमा पत्रकारिता गर्न रुचाउने उनले पत्रकारितामा राजनीतिको प्रभावले परेको दुर्गन्ध हटाउनकै लागि भए पनि आम युवा पत्रकारहरू स्वतन्त्र बन्नुपर्नेमा उनको जोड छ ।
उक्त साधारण सभाबाट संस्थाको अध्यक्षमा कृष्ण रानाभाट , सचिवमा रजनी तामाङ र कोषाध्यक्षमा राधा ढकाल निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा गणेश बज्र लामा, अल्चना श्रेष्ठ, मदन जैसी, गणेश पौडेल र नवीन क्षेत्री सर्वसम्मत चयन भएका छन् ।
सोही अवसरमा संस्थाले यस वर्षको पत्रकार महिला सम्मानमा खोज मिडियाकी रजनी तामाङ स्याङ्बोलाई सम्मानित गरेको थियो ।