स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भित्र बढ्दै गएको एकाधिकारवादी प्रवृत्ति, अपारदर्शी आर्थिक गतिविधि र लोकतान्त्रिक अभ्यासको ह्रासको विरोधमा पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य विवेक तिमल्सिनाले स्ववियु कार्यालयमा तालाबन्दी गरेका छन्।
स्ववियु आफ्नै उद्देश्य, मूल्य र गरिमाबाट गम्भीर रूपमा विचलित हुँदै गएको भन्दै तिमल्सिनाले स्ववियुभित्र बहुमतको दम्भमा आधारित एकाधिकारवादी प्रवृत्ति हाबी भएको र आर्थिक गतिविधि अपारदर्शी बनेको आरोप लगाएका छन्।

उनका अनुसार स्ववियुभित्र रहेका विभिन्न विद्यार्थी संगठनहरूको सहअस्तित्व, सहभागिता र लोकतान्त्रिक अभ्यासको मर्मलाई पूर्ण रूपमा बेवास्ता गरिएको छ। बहुमतको नाममा अल्पमतका आवाजलाई दबाउने, गम्भीर विषयमा छलफल र सल्लाहविनै निर्णय थोपर्ने तथा प्रश्न र आलोचनामाथि दमन गर्ने प्रवृत्ति मौलाउँदै गएको उनले बताए।
त्यसैगरी स्ववियुको नाममा भएका आर्थिक गतिविधिहरू शंकास्पद, अपारदर्शी र उत्तरदायित्वविहीन बन्दै गएको तिमल्सिनाको आरोप छ। आर्थिक अपचलनका विषय उठ्दा छानबिन गर्नुको सट्टा विषय दबाउने, प्रश्न उठाउनेलाई धम्क्याउने र भय सिर्जना गर्ने कार्य निन्दनीय र आपत्तिजनक भएको उनको भनाइ छ।
स्ववियु कुनै एक संगठनको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै उनले हाल स्ववियुको गरिमा क्षयीकरण हुँदै गएको, संस्थागत विश्वसनीयता धराशायी भएको र स्ववियु स्वयं विवाद र बदनामीको प्रतीक बन्दै गएको बताए।
तिमल्सिनाले स्ववियुभित्र लोकतान्त्रिक अभ्यासको पुनःस्थापना, सबै सदस्यको सम्मानजनक सहभागिता सुनिश्चित गर्न तथा आर्थिक कारोबारको विषयमा क्याम्पस प्रशासनद्वारा स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गर्न माग गरेका छन्। छानबिन प्रतिवेदनअनुसार कारबाही नहुँदासम्म स्ववियुको नाममा हुने सम्पूर्ण आर्थिक गतिविधि बन्द गर्नुपर्ने उनको माग छ।
लोकतान्त्रिक अभ्यास, उत्तरदायित्व र पारदर्शिताको पुनःस्थापनाका लागि बाध्यात्मक अवस्था सिर्जना गर्ने उद्देश्यले आफूले स्ववियु कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको तिमल्सिनाले जानकारी दिएका छन्। तालाबन्दीबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी स्ववियु नेतृत्वले लिनुपर्ने उनले चेतावनी दिएका छन्।
















